१६ मंसिर २०८१, आईतवार
रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगियो

  • टाइम्स संवाददाता

  • १६ मंसिर २०८१, आईतवार १२:२१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । मंसिर १५ गते शुक्रवार देखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज सरकारी वकिलको कार्यालय लगिएको हो ।  बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले आइतबारसम्म काठमाडौंमा नै रहेका थिए । बयान सकिएमा आजै उनलाइ पोखरा फर्काइने छ । मंसिर १५ गते शुक्रबार बिहानदेखि सुरू भएको बयान सो दिनको अपरान्ह ३:३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ । बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन् ।

त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ । त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ । यसअघि उनका पार्टनर पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ । पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन् । तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवास् र कमल लामा पक्राउ परेका छन् । यसमा सञ्चालक जिबी राई भने फरार छन् । अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ । ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि-छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ ।

मुख्यतया स् अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन् ।

Nabintech