१९ मंसिर २०८१, बुधबार
चिनिया उच्च नेतृत्वसँग आज द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने


  • टाइम्स संवाददाता

  • १८ मंसिर २०८१, मंगलवार ०७:४७

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्ने छन् ।

चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबीच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली चीन भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने छन् । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  सबै कार्यक्रम सम्पन्नगरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मङ्सिर २० गते स्वदेश फर्कनेछ ।

Nabintech