सिरियाको विद्रोही समूहले दोस्रो ठूलो शहर अलेप्पो पनि कब्जा गरेका छन् । सिरियाली राष्ट्रपति बशर अल–असदविरुद्ध विद्रोहीहरूले गरेको अभियानले अलेप्पो र हामा शहर कब्जा गरिसकेका र अब राजधानी दमास्कस पुग्ने डर बढाएको बीबीसीले जनाएको छ । बेलायतमा आधारित सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार विद्रोहीहरू होम्सतर्फ गइरहेका छन् । यदि विद्रोहीहरूले होम्स पनि कब्जा गरे भने सिरियाको राजधानी दमास्कसले धेरै शहरहरूसँग सम्पर्क गुमाउनेछ ।
हामा शहर कब्जा गरेपछि विद्रोही समूह हयात तहरीर अल–शामका नेता अबु मोहम्मद अल–जवलानीले विजयको घोषणा गरेका छन् । राष्ट्रपति बशर अल–असदले भने देश टुक्राउने अभियानमा लागेका विद्रोहीलाई अमेरिका र पश्चिमाहरूले सहयोग गरिरहेको भन्दै चर्को निन्दा गर्नुभएको छ ।
विद्रोहीले कब्जा गर्न थालेको हल्लासँगै देशको तेस्रो ठूलो शहर होम्सबाट हजारौं नागरिक भागिरहेका छन् । सन् २०११ देखि सिरियामा गृहयुद्ध चलिरहेको छ । त्यहाँ विभिन्न क्षेत्रमा विभिन्न समूहले शासन गरिरहेका छन् । राष्ट्रपति अशदलाई इरान, रुस र लेबनानी समूह हिजबुल्लाहबाट सहयोग रहेको छ । अमेरिका, बेलायत, टर्कीलगायतका देशले स्वार्थअनुसार विभिन्न विद्रोही समूहलाई समर्थन गर्दै आएका छन् । अहिले इजरायलसँगको द्वन्द्वका कारण इरान र हिजबुल्लाह कमजोर भएको तथा युक्रेनसँगको युद्धका कारण रुस पनि कमजोर भएकाले सिरियाली राष्ट्रपति असदसमेत समस्यामा हुनुहुन्छ । यही मौकामा विद्रोहीले धमाधम शहरहरू कब्जा गर्न लागेका हुन् ।
इस्लामिक अतिवादी समूह हयात तहरीर अल–शाम ९एचटीएस० का नेता अबु मोहम्मदले होम्सका नागरिकलाई भनेका छन्, ‘अब तपाईंको समय हो ।’ सन् २०११ मा गृहयुद्ध शुरू भएपछि सिरियामा पाँच लाख जनाभन्दा धेरै मानिसको ज्यान गएको छ ।