रुपन्देही – बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पतीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । गौरी खनाललाई दमको उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।