काठमाडौँ- नेपाल पत्रकार महासङ्घको शुक्रबार सम्पन्न निर्वाचनको मतगणना अन्तिममा चरणमा पुगेको छ हालसम्मको मतगणना अनुसार अध्यक्षमा निर्मला शर्मा जितनजिक पुग्नुभएको छ । निर्वाचन समितिका संयोजक प्रा.चिरञ्जीवी खनालका अनुसार शनिबार बेलुकी ७ बजेसम्मको गणनामा अध्यक्षका उम्मेदवार निर्मला शर्माले तीन हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले दुई हजार ८२९ मत प्राप्त गर्न‘भएको छ ।
त्यसै गरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहल अग्रस्थानमा हुनुहुन्छ । हालसम्म उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मतगणना सकिएको छ । यो समाचार तयार पार्दासम्म केही जिल्लाको मात्र मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले सबै मतपरिणाम आइतबार एकै पटक सार्वजनिक गर्ने संयोजक खनालले जानकारी दिनुभयो ।
महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले शर्माको नेतृत्वमा र प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन विष्टको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाई उम्मेदवारी दिएका थिए । जस अनुसार मतगणना सम्पन्न भएका अधिकांश जिल्ला, प्रदेश र प्रतिष्ठान शाखामा युनियन र चौतारीको संयुक्त प्यानल विजयी भएका छन् । हालसम्म पाल्पा, नवलपरासी, रामेछाप, रौतहट, मकवानपुर, कपिलवस्तु, प्युठान, बैतडी, सिन्धुली, ओखलढुङ्गा, दोलखा, मनाङ, सर्लाही, भक्तपुर, नुवाकोट, खोटाङ। हुम्ला, अर्घाखाँची, बागलुङ, बर्दिया, मुगु, डोल्पा र रोल्पाको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।