७ पुष २०८१, आईतवार
प्रहरी बढुवाः फेरि शुरु भयो एआईजी र डीआईजीको प्रतिस्पर्धा

  • टाइम्स संवाददाता

  • २ पुष २०८१, मंगलवार १८:३३

काठमाडौं – नेपाल प्रहरीमा तल्लो दर्जाका अनगिन्ती दरबन्दी रिक्त छन् । बढुवा नखुलाइँदा ती दर्जाका थुप्रै प्रहरीको वृत्ति विकासमा असर परिरहेको छ, तर सरकार र प्रहरी नेतृत्व फेरि पनि अवकाशको मुखमा पुगेका उच्च दर्जाका अधिकृतलाई बढुवा दिँदै फुली लगाएर घर पठाउने कार्यमै चिन्तित छ ।  मध्य पुसमा दुई एआईजी अवकाश हुँदैछन् । त्यसका लागि पाँच जनाको चर्को प्रतिस्पर्धा शुरु भएको छ । एआईजी सिफारिस भएका भरतबहादुर बोहराले फुली लगाएलगत्तै पुस १४ मा र उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा रहेकी किरण बज्राचार्यले १६ गते उमेरहदका कारण अवकाश पाउने भएका छन् ।

रिक्त हुने एआईजीका लागि पाँच प्रतिस्पर्धी मैदानमा छन् । उनीहरू २०८० वैशाख ६ गते डीआईजीमा बढुवा भएका हुन् । कुवेर कडायत, रवीन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई र लालमणि आचार्य एआईजीका प्रतिस्पर्धी हुन् ।

यसमध्ये कडायत, केसी र भट्टराई चैत ४ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन्छन् । विद्यमान प्रहरी ऐनअनुसार खापुङ र आचार्यको कार्यकाल २०८२ कात्तिक २६ सम्म छ । त्यसैले अहिले उनीहरू एआईजी नहुँदा पनि चैत ४ मा वर्तमान आईजीसहित प्रहरी उच्च नेतृत्व रिक्त भएपछि एआईजी हुने वरिष्ठ दावेदार हुन्छन् ।  चैत ४ मा अवकाश हुने टोलीबाट केसी र भट्टराईमध्ये एक जना डीआईजीबाटै घर जानुपर्ने अवस्था छ । यससँगै डीआईजीका तीन दरबन्दी रिक्त हुन्छन् । त्यसका लागि ६ जना प्रतिस्पर्धामा छन् ।

हाल एसएसपी रहेका ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र ओमप्रसाद अधिकारी डीआईजीको प्रतिस्पर्धामा छन् । डीआईजीका ६ प्रतिस्पर्धीमध्ये राना राष्ट्रिय अनुसन्धान (तत्कालीन गुप्तचर) विभागबाट सेवा परिवर्तन गरेर प्रहरी सेवामा प्रवेश गरेका हुन् । अन्य २०५४ चैत १८ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका हुन् ।

Nabintech