बाँकेमा घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी दर्ता भएका छन् । यो उजुरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको बेला दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले गत मङ्सिर महिनामा घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी दर्ता भएको जनाएको छ । प्रहरीका अनुसार ५० उजुरीमध्ये ३६ वटा उजुरी फर्छ्यौट भएको र बाँकी १४ वटा उजुरीउपर अनुसन्धान कारबाही प्रक्रियामा छन् । महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तथा कारबाहीतर्फ छ वटा मुद्दा दर्ता भएकोमा संलग्न छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरीले जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका सम्बन्धमा १० वटा निवेदन दर्ता भएकोमा छ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
गत महिनामा प्रहरीले नौ लाख ३३ हजार ७६० रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान बरामद गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ । ट्राफिक कारबाहीतर्फ २८८६ वटा सवारी साधनलाई कारबाही गरी २४ लाख ७१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको र ४६ हजार रुपियाँ जरिवाना गराइएको छ । बाँके प्रहरीका अनुसार गत मङ्सिर महिनामा प्रहरीले विभिन्न अपराधसम्बन्धी ८४ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न ५२ जना अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । त्यसैगरी सात वर्ष दुई महिना २० दिन कैद सजाय तोकिएका ५४ जना फरार अपराधीहरुलाई पक्राउ गरिएको र उनीहरुबाट आठ लाख ६३ हजार आठ सय रुपियाँ जरिवानासमेत असुल गरिएको छ । यसै अवधिमा ३८ वटा पेण्डिङ मुद्दाहरु फर्छ्यौट गरिएको छ । चार सय २८ वटा ठाडो उजुरी दर्ता भएकोमा चार सय १६ उजुरी फर्छ्यौट गरिएको र १२ वटा उजुरी पर्छ्यौट प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।
उक्त महिनामा हराएका दुई थान मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको, हराएका १० थान आइफोन र एन्ड्रोइड मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको, १५० ग्राम लागूऔषध ब्राउनसुगरसहित तीन जना व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर र नाइट्राजेपाम ८० ट्याब्लेट, ट्रामाडोल ४३६ ट्याब्लेटसहित ओसारप्रसारमा संलग्न १६ जनालाई कानुनी दायरामा ल्याइएको छ । समुदाय प्रहरी सहकार्यतर्फ लैङ्गिक हिंसाविरुद्धका २८ वटा, लागूऔषधसम्बन्धी सात वटा सचेतना, आत्महत्यासम्बन्धी सात वटा, अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम दुई वटा, नागरिक सुनुवाइ तीन वटा, चोरीसम्बन्धी सचेतना १० वटा लगायत १०८ वटा सचेतनामूलक कार्यक्रमहरु गरिएको छ । त्यसैगरी लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईटसहित १६२ वटा ट्राफिकसम्बन्धी सचेतनामूलक विभिन्न कार्यक्रम गरिएको छ ।
आन्तरिक सुदृढीकरण प्रयासअन्तर्गत ‘बेष्ट पुलिस युनिट अफ द मन्थ’ मङ्सिर महिनाको उत्कृष्ट प्रहरी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरलाई प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ्गरोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यीकरण गरी सेवाग्राही मैत्री वातावरण तयार गरिएको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीले पछिल्लो समयमा हरेक महिना कार्यालयबाट सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।