४ पुष २०८१, बिहीबार
फुटबल सङ्घ बाँकेमा तीन पदाधिकारी र एक सदस्य मनोनित

  • टाइम्स संवाददाता

  • ४ पुष २०८१, बिहीबार ०७:५३

नेपालगन्ज,-बाँके जिल्ला फुटबल सङ्घले रिक्त रहेका तिन पदाधिकारी र एक सदस्य मनोनित गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सहमहासचिवमा दिर्घराज आचार्य (कौशल) र सरिता थापा(शाह) लाई मनोनित गरेको छ । यसैगरी सङ्घको सदस्यमा कर्ण बस्नेतलाई मनोनित गरिएको अखिल नेपाल फुटबल सङ्घका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।

सङ्घको विधानमा रहेको व्यवस्था अनुसार मनोनित गरिएको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सङ्घको कार्यसमितिलाई चलायमान गराउन मनोनित गरिएको हो । फुटबल क्षेत्रमा योगदान गरिरहनु भएको व्यक्तिलाई समेटदैं कार्यसमितिमा मनोनित गरिएको हो । मनोनित हुनुभएका सबैले बाँके जिल्लाको फुटबल विकासमा थप क्रियाशिल भएर काम गर्नु हुनेछ भन्ने विश्वास छ ।’’

कोषाध्यक्षमा मनोनित हुनुभएका तामाङ राष्ट्रिय खेलकुद परिषद्को पूर्व प्रशिक्षक हुनुहुन्छ । चार दशकदेखि फुटबल खेलाडी उत्पादनमा योगदान गरिरहनुभएका तामाङ मिलन युवा क्लबको अध्यक्ष हुनुहुन्छ । सहमहासचिवमा मनोनित आचार्य रोयल नेपालगन्ज फुटबल क्लबका महासचिव हुनुहुन्छ भने थापा कारकाँदो युवा स्पोट्स क्लबका महासचिव हुनुहुन्छ । यसैगरी सदस्यमा मनोनित बस्नेत कोहलपुर रेसिङ सहारा क्लबको सल्लाहाकार तथा कोहलपुर गोल्ड कपको संयोजक हुनुहुन्छ ।

Nabintech