४ पुष २०८१, बिहीबार
लुम्बिनीमा विद्युतीय बसको परीक्षण सञ्चालन

  • टाइम्स संवाददाता

  • ४ पुष २०८१, बिहीबार १८:१५

बुद्ध जन्मस्थलमा थन्किएर बसेका विद्युतीय बसको परीक्षण सञ्चालन थालिएको छ । पाँच वटामध्ये दुई वटा बस बिहीबारदेखि सञ्चालन सुरु भएको हो । ती बसहरु लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेको जनाउँदै आएको थियो । एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले ल्याइएकामध्ये दुई वटा बसको परीक्षणका लागि सञ्चालन सुरु गरिएको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा पाँच वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।

मन्त्रालयले सेतो नम्बर प्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी उल्झनका कारण बस र भ्यान सञ्चालन हुन सकेको थिएन । दाताले दिएको बस पर्यटकको सुविधाका लागि सञ्चालन नगरेको भन्दै सर्वत्र आलोचना भएपछि कोषले बिहीबारदेखि परीक्षणस्वरुप बसमा दानपेटिका राखेर सञ्चालन सुरु गरेको हो ।

रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्युतीय बसको शुभारम्भ गर्नुभयो ।

बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिन सक्नेछन् । तर बस भाडा भनेर पैसा लिइने छैन । बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानुनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस दिगो रुपमा सञ्चालन हुने बताउनुभयो ।

उहाँले लुम्बिनी विकास कोषले बस सञ्चालन गर्दा आफ्नो सम्पत्तिको सदुपयोग गरेको ठहर हुने बताउँदै यसको मोडालिटीले यात्रुलाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो । सांसद घिमिरेले लुम्बिनी आउन चाहने तीर्थयात्रीहरुलाई लुम्बिनीमा ल्याउँदा त्यसले पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताउनुभयो । यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले अहिले परीक्षणस्वरुप दानपेटिका राखेर २ वटा बस सञ्चालन गरिएको बताउनुभयो ।

उपाध्यक्ष डा. लामाले सेतो नम्बर प्लेटलाई हरियो बनाउन आफूहरुले पटक–पटक पहल गर्दा पनि नभएको बताउँदै अहिले सङ्घीय मन्त्री, मुख्यमन्त्री र सांसदहरुले समेत सञ्चालनका लागि निर्देशन गरेपछि यात्रुसँग पैसा नलिनेगरी दानपेटिकाको विधिमार्फत सञ्चालन थालिएको बताउनुभयो । उहाँले कानुनी अडचनका कारण सञ्चालन गर्न नसकेको बताउँदै कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनको ध्यानकर्षण गराउनुभयो ।

यस्तै, पूर्वमन्त्री एवम् लुम्बिनी क्षेत्रका प्रदेश सांसद सिके गुप्ताले विद्युतीय बस सञ्चालनमा आउनु निकै खुशीको कुरा भएको बताउँदै निरन्तरताको शुभकामना दिनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।  लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले हरियो नम्बर प्लेटमा रुपान्तरण गर्न नसक्दा बस सञ्चालन गर्न नसकेको बताउँदै दीगो सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहने बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ होटल एसोसिएस्नका अध्यक्ष चन्द्रप्रकाश (सिपि) श्रेष्ठ, लुम्बिनी होटल व्यवसायी सङ्घ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बोल्नुहुँदै पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवद्र्धन हुने बताउनुभयो ।

विद्युतीय बस र भ्यान सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्व ३ सदस्यीय कार्यदल बनाएर कार्यविधि नै तयार गरिसकेको थियो । सरकारी नम्बर प्लेट हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले २०८१ जेठ ६ गतेको मन्त्रिपरिषद्ले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरेपनि कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकेको कोषाध्यक्ष भट्टराईको भनाइ छ ।

बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जना यात्रुले निःशुल्क धम्म यात्रा नामक बिजुली बसको सेवा लिएका थिए । यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कात्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रुपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो ।

Nabintech