कोहलपुर नगरपालिकाले आ.व. २०८१÷०८२ को पहिलो चौमासिकमा सम्पन्न भएका योजना, विकास निर्माण र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरेको छ ।
कोहलपुर नगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा शुक्रबार भएको सुनुवाईमा नागरिकहरुले नगरपालिकासंग विकासका बिभिन्न माग राखेका छन् । नगरपालिका भित्रका पिछडिएका बस्तिहरुमा बाटो तथा सडक निर्माणमा पालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुन् । सार्वजनिक सुनुवाईका अधिकाँस सहभागिहरुले बाटो, घाटो, सडक र नालीकै माग गरेका थिए । पालिकाले् हरेक वर्ष वजेटको धेरै हिस्सा बाटो घाटो र सडकमै लगानी गर्दै आएको भएपनि धेरै विकट ठाउँहरुमा बाटो तथा सडकको समस्या कायमै रहेको नागरिकहरुको भनाइ थियो । सहभागीले सडक, बाटोघाटो, नाला तथा ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकावालालाई प्रश्न गरेका थिए ।
सहभागिहरुले गरेको प्रश्नको जवाफ दिदै नगर प्रमुख पुर्णप्रसाद आचार्यले पालिका भित्रका सबै टोल तथा बस्ति जोड्ने गरि बाटो तथा सडक निर्माणमा लागिपरेको बताए । आफुहरु निर्वाचित भएर आएपछि धेरै बाटो तथा सडकहरु निर्माण भएको भन्दै नगरप्रमुख आचार्यले भने “सबै विकास एकै पटकमा सम्भव हुदैन आवश्यक्ताको आधारमा क्रमागत रुपले विकास हुँर्दै जान्छ, नगरपालिकाले विकासको दृष्टिकोणले फड्को मारे हेर्न सकिने गरि काम गरिरहेका छौं ।” पालिकाको बिभिन्न ठाउँमा बाटो कालोपत्रे हुनुपर्नेे विषयमा नागरिकहरुले गरेको प्रश्नको जवाफ दिदै आचार्यले नागरिकहरुले अपेक्षा गरे अनुसारको विकास गर्नका लागि पालिकाको वजेटले मात्रै नभ्याउने भएकाले संघ तथा प्रदेश संग सरकारको वजेट समेत आवश्यक भएको र जस्को पहल प्रतिबद्धता गरेका थिए । सार्वजनिक सुनुवाइमा नगरउपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्ष र शाखा प्रमुखहरुले सहभागिहरुको प्रश्नको जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाए उठान भएका विषयको आधारमा विभिन्न ८ बुदें साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको थियो ।
बास नेपालका कार्यक्रम प्रवन्धक मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा नगर प्रमुख आचार्यले यो अवधीमा गरेका कामहरु र आगामी योजनाको वारेमा जानकारी गराएका थिए । बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा २ सय जना नगरवासीहरुको सहभागिता रहेको थियो ।