कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको पाँचौं दिन शनिबार हजारौं दर्शक उपस्थित भएका छन् । पुस ९ गतेदेखि जारी महोत्सव सुरु भएको पाँचौ दिनमा दर्शकहरुको उल्लेख्य सहभागिता भएको हो । महोत्सव सुरु भएदेखि पहिलो शनिबारसमेत परेका कारण दर्शकहरुको संख्या अपेक्षा गरिएको भन्दापनि बढि आएको आयोजकले जनाएको छ ।
दर्शकको बाक्लो उपस्थिति हुँदा व्यवस्थापन गर्नै हम्मेहम्मे भएको थियो । अत्यधिक भीडका कारण युवाहरुको समूहबीच झडपको समेत स्थिति सिर्जना भएको थियो । त्यतिसम्म की केही समय त टिकटसमेत होल्ड गर्नुपर्ने स्थिति सिर्जना भयो ।
मुख्य प्रवेश गेटबाट दर्शकहरुको भीडभाड थाम्न नसकेपछि डिभिजन वन कार्यालय कोहलपुरको गेटलाई बाहिरने गेटको रुपमा प्रयोग गरिएको थियोे । दर्शकहरुको उल्लेख्य सहभागिता भएको महोत्सवमा कलाकारहरुले आफ्ना प्रस्तुति दिएका थिए । शनिबारपनि राष्ट्रियस्तर र स्थानीय कलाकारहरुको महोत्सव नै तंरगित भयो ।
शनिबारको मुख्य आर्षकणको केन्द्र थिइन्, चर्चित गायिका मिलन नेवार । उनले आफ्ना चर्चित गीतहरु गाइन् । ती गीतमार्फत दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । यस्तै,लोक तथा दोहोरी गायक कृष्ण रेउलेपनि विभिन्न गितहरु प्रस्तुत गरि माहोल तताएका थिए । मोडेल आरुषी मगर,रितु शाहीको पनि प्रस्तुति रहेको थियो । यस्तै,पछिल्लो समय निकै लोकप्रिय गायिकाका रुपमा स्थापित विपना सिंहलेपनि देउडा गीतहरु प्रस्तुत गरेकी थिइन् । मोडेल माया परियार,सानू चौधरी र डान्सर निरुता कार्कीको प्रस्तुति रहेको थियोे ।
नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ भव्य रुपमा सञ्चालन भइरहेको छ ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् । महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
१४ गतेका मुख्य आकर्षक
महोत्सवमा आइतबार पछिल्लो समयकी निकै व्यस्त गायिका शान्ति श्री परियारको प्रस्तुति रहनेछ । उनी देशभर चलिरहेका मेला महोत्सवमा सबैभन्दा धेरै माग भइरहेकी गायिका हुन् । यस्तै गायक टंक तिमिल्सिना,भागिरथ चलाउनेपनि आइतबारको मुख्य आकर्षणका रुपमा रहेका छन् । कोहलपुरकी चेली डान्सर करिश्मा शाहीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी डान्सर मीना पुनमगर र सानुचौधरीसमेत महोत्सवमा आउनेछिन् । यस्तै स्थानीय कर्णाली कला केन्द्रका कलाकारहरुको नियमित प्रस्तुति रहनेछ ।