२४ पुष २०८१, बुधबार
माओवादीको घोषणा– ६ महिना अभियान, अर्को ६ महिनापछि महाधिवेशन

  • टाइम्स संवाददाता

  • २३ पुष २०८१, मंगलवार २०:२०

नेकपा माओवादी केन्द्रले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर महाधिवेशनमा जुट्ने निर्णय गरेको छ । तीन दिनदेखि जारी बैठकले नयाँ विचार संश्लेषणमा लागि महाधिवेशनमा ६ महिनापछि नियमित नवौं महाधिवेशनमा जाने निर्णय गरेको हो ।

‘छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषणा गर्नुभयो,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘अभियानबाट व्यापक रुपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने उहाँले स्पष्ट गर्नुभयो ।’

उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले आगामी मंसिरभित्र विशेष महाधिवेशन गर्न माग गरे पनि बैठकले नियमित अधिवेशनमा जाने निर्णय गरेको हो ।

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्व-पश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरूको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिमरूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रुपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।

Nabintech