त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई बिहीबार भएको फाइनल खेलमा ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । आर्मीले जीतसँगै नगद ७ लाख रूपैयाँ, शिल्ड र ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो रनरअपमा चित्त बुझायो । पुलिसले ३ लाख ५० हजार रूपैयाँ नगदसहित शिल्ड प्राप्त गरेको छ । प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तृतीय भएको छ । भारतीय गुजरात स्टेट भलिबल क्लबले डिफल्ट गरेपछि मणिमुकुन्द तृतीय स्थान पाएको हो । तृतीय भएसँगै मणिमुकुन्दले एक लाख ७५ हजार रूपैयाँ नगद र मेडल प्राप्त गरेको छ । यसैगरी, प्रतियोगितामा भारतीय गुजरात स्टेट भलिबल क्लबले एक लाख रूपैयाँ नगदसहितको सान्त्वना पुरस्कार प्राप्त गरेको छ । त्रिभुवन आर्मीका दानबहादुर भट्ट क्षेत्री उत्कृष्ट खेलाडी बने । उनले नगद २५ हजार रूपैयाँ प्राप्त गरे । बेष्ट कोच त्रिभुवन आर्मीका लोकबहादुर बुढा, बेष्ट लिबेरो त्रिभुवन आर्मीकै ईश्वर थापा र बेष्ट सेटर समेत त्रिभुवन आर्मीकै दुर्गा प्रसाद महतो भए ।
यस्तै, नेपाल पुलिस क्लबबाट बेष्ट आउट साइडर सन्जु विक्रम शाह, बेष्ट अपोजिट प्लेयर रविन चन्द र बेष्ट मिडल बलर रविन नगरकोटी भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप आयोजना गरेको थियो । पुस १७ गतेदेखि शुरू भएको प्रतियोगितामा भारतसहित ८ टिम सहभागी थिए ।