समृद्धि फाउण्डेशन नेपाल बाँकेले नेपालगन्ज उप महानगरपालिकाको वडा नं. १२ मा युवा क्लब गठन गरेको छ । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएस एड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवा क्लब गठन कार्यविधि २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समुहको वडा स्तरीय युवा क्लब गठन गरिएको हो ।
युवाहरूलाई सशक्तिकरण, सामाजिक एकता प्रवद्र्धन र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न र सक्रियता बढाई वडा स्तरमा रहेको समस्याहरुको पहिचान गरि युवा क्लबले समस्या अभिव्यक्त गर्न, सीप विकास गर्न र स्थानीय समस्याहरूलाई सम्बोधन गर्न मञ्च प्रदान गर्नुका साथै युवाको नेतृत्व तथा क्षमता विकास र परिचालनमा सहजीकरणका कार्यक्रम संचालन गरिएको छ ।
मुस्लिम समुदायमा रहेको बालविवाहको अभ्यासलाइ युवाहरुको सहभागिता र पहल मार्फत न्युनिकरण गर्ने परियोजना अन्तरगत गठन भईरहेको युवा क्लबलाई समुदायको विकासमा पु–याउन सक्ने योगदान र युवा क्लब मार्फत सामाजिक हानीकारक अभ्यासको विरुद्धमा संचालन गर्न सकिने अभियान र स्थानीय तहसँग समन्वय र सहकार्य गरी सामुदायिक सेवामा सहभागी हुन सहज हुने अनुमान गरिएको छ ।
प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरि मधेसी मुस्लिम र पछाडि पारिएको सिमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङगता भएका युवालाई क्लबमा समावेश गरिने समृद्धि फाउण्डेशन नेपालले जनाएको छ ।
योजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधी, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधी, लक्षित समुह र सामुदायिक संस्थाहरूलाई संलग्न गराउने र वडा स्तरीय जनप्रतिनिधी र स्थानीय सरकारलाई युवा क्लबलाई दिर्घकालीन रुपमा सक्रिय बनाउन जवाफदेही हुने अवस्था निर्माणको पहल संस्थाले गरिरहेको छ ।
बालविवाह, दाईजो प्रथा र सामाजिक हानिकारक अभ्यास न्युनिकरणका लागि युवाहरुको संगठन निर्माण गरि सामुदायिक गतिविधिहरूमा युवाहरूको सहभागिता वृद्धि गराउने र स्थानीय युवाहरु बिच बलियो सामुदायिक सम्बन्ध स्थापनामा मद्दत गरि अभियानका लागि सचेत, सजग र सशक्त युवाहरूको उपलब्धता हुने संस्थाको लक्ष्य रहेको छ ।