२८ पुष २०८१, आईतवार
कोहलपुरमा ‘बदलिदो थारू समाज र साहित्य’ विषयक विचार गोष्ठी सम्पन्न

  • टाइम्स संवाददाता

  • २८ पुष २०८१, आईतवार ०७:४९

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कोहलपुर नगरपालिका वडा नं ५ र ६ मा रहेको कोहलपुरको ठूलो र पुरानो थारू बस्ती रझेना थारु गाउँमा बदलिदो थारू समाज र साहित्य’ विषयक आयोजना विचार गोष्ठी सम्पन्न गरेको छ । थारूहरू समुदायको नयाँ वर्षको आरम्भ माघ बाटै हुने भएकाले माघ पर्व तथा राष्ट्रिय एकता दिवसको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको हो । साहित्य केवल साहित्यकारको मात्र सरोरकारको विषय होइन । संस्थाका अध्यक्ष पुष्कर रिजालले साहित्य समाजकै सम्पत्ति र सरोरकारको विषय भएकाले साहित्य र समाजको सम्बन्धका व्यवहारिक पक्षहरूलाई देखाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रदेश सांसद सन्जु थारूले साहित्यिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रझेना गाउँमा आएर पूर्णिमाले गरेको कार्यक्रम बौद्धिक र ऐतिहासिक हिसाबले अर्थपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा कार्यपत्र मार्फत् थारू साहित्यको इतिहास र वर्तमानबारे डा. कृष्णराज सर्वहारीले प्रकाश पार्नुभयो । उहाँले पहाडी मूलका लेखकले थारू भाषा र साहित्यमा सक्रियता देखाउने तर थारू लेखकहरूले अपेक्षाकृत नलेख्नु दुःखलाग्दो विषय भएको बताउनुभयो । डा. राजकुमार थारूले थारू मौलिक संस्कृतिको महत्व नयाँ पुस्तालाई सिकाउनु जरूरी भएको बताउनुभयो । टिप्पणीकार शेखर दहितले कार्यक्रम गुणात्मक महत्वको रहेको भन्दै विश्वव्यापीकरण र समयका माग अनुसार विकास र परिवर्तन पनि हुने भए पनि संस्कृति नै मौलिक पहिचान हो भन्ने भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र वडा नं ६ का वडा अध्यक्ष श्रीकृष्ण थारूले साहित्य र समाजको संरक्षण र विकास नै सही विकास रहेको धारणाहरू राख्नुभएको थियो । कार्यक्रममा प्राज्ञ महानन्द ढकालले अर्थपूण कार्यक्रमको आयोजना गरेकोमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरलाई धन्यवाद दिनुभएको थियो। प्राज्ञ हरि प्रसाद तिमिल्सिना लगायतको मन्तव्य रहेको कार्यक्रममा बडघर, गुरुवा लगायत थारू समुदायका गन्नेमान्नेहरूका साथै साहित्यकार, पत्रकार र स्थानीयको उल्लेखनीय उपस्थिति थियो । उक्त अवसरमा थारु नृत्य तथा सांस्कृतिक गायन प्रस्तुत गरिएको थियो । सम्पूर्ण आमन्त्रित महानुभावलाई थारूहरूको लोकप्रिय खाना ढिकरी र कचालु (अचार) नास्ताको रुपमा खुवाइएको थियो । प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पुष्कर रिजालले गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषको रहेको थियो ।

Nabintech