नेपालगन्ज- महिला फुटबलको विकासका लागि पहिलो पटक नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा सो प्रतियोगिता नेपालगन्ज रंंगशालामा आगामी फागुन १९ देखि २९ गतेसम्म सञ्चालन गरिने यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगितामा नेपालका ए डिभिजनका ६ वटा टीम र भारतका दुई वटा टीम गरेर आठ वटा टीमको सहभागिता रहने बताउनुभयो । उहाँले लामो समयपछि नेपालगन्जमा ठुलो फुटवल प्रतियोगिता आयोजना हुन थालेको जनाउँदै त्यसका लागि स्रोत व्यवस्थापनसँगै अन्य तयारी तीव्र पारिएको बताउनुभयो । कोभिडपछि पहिलो पटक नेपालगन्ज रंगशालालाई खेल र खेलाडीका लागि खुल्ला गरिएको जनाउँदै प्रमुख कार्यकारी शाहले प्रतियोगितालाई भव्य बनाउन सङ्घीय सरकारदेखि स्थानीय सरकार र विभिन्न गैर सरकारी निकायको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगितामा करिब एक करोड ३५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको जनाउँदै शाहले सोतहरु खोजि गर्ने कार्य भइरहेकाले प्रायोजक हुन चाहनेहरुलाई सम्पर्क गर्न अनुरोध गर्नुभयो । बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले लामो समयपछि नेपालगन्जमा ठुलो प्रतियोगिता आयोजना हुन थालेकोले भव्य बनाउन सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
उहाँले यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू आउने विश्वास व्यक्त गर्दै बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताउनु भयो । लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित भएको जनाउँदै शाहीले यसबाट नेपालगन्जमा खेलकुद गतिविधि तीव्र हुने बताउनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसी, पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, बाँके महिला फुटवल समितिका अध्यक्ष नितु शाह चन्द, प्रचार प्रसार उपसमितिका संयोजक निरज गौतम, वरिष्ठ फुटबल खेलाडीहरु र विभिन्न उपसमितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।