५ माघ २०८१, शनिबार
नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

  • टाइम्स संवाददाता

  • ५ माघ २०८१, शनिबार १८:३४

नेपाल र भारतका सुरक्षा निकायबिच डिआइजीस्तरीय छैटौँ समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा अपराध नियन्त्रण, साम्प्रदायिक तत्वको रोकथाम, र आपसी सहयोगको विभिन्न विषयमा छलफल गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपालका शुक्रवार नम्बर ५ बाहिनी मुख्यालय रुपन्देहीद्वारा आयोजित यो बैठक पाल्पाको तिनाहु वडा ३, लुम्बिनी केवलकार बुटवल हिलमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालको नेतृत्व रहेको थियो भने भारततर्फ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का लखीमपुरखिरी सेक्टर हेडक्वार्टरका डिआइजी  विक्रमन र गोरखपुर सेक्टर हेडक्वार्टरका डिआइजी मुन्ना सिंहले प्रतिनिधित्व गर्नुभएको थियो ।

बैठकमा सीमावर्ती जिल्लामा देखिएका उग्र साम्प्रदायिक गतिविधि नियन्त्रण, धार्मिक सहिष्णुता कायम, सीमा अपराध रोकथाम र सूचना आदान प्रदानलाई थप प्रभावकारी बनाउन सहमति भएको छ । बैठकले अवैध आर्थिक अपराध, लागुऔषध ओसारपसार, मानव बेचबिखन र तेस्रो देशका नागरिकको गैरकानुनी प्रवेशलाई रोक्न संयुक्त सुरक्षा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी, दशगजा क्षेत्रको सरसफाइ, सीमास्तम्भको मर्मत सम्भार, र अवैध संरचना हटाउने विषयमा दुवै पक्षले सहकार्य गर्न प्रतिबद्धता जनाएका छन् । बैठकमा संयुक्त गस्ती, हेल्थ डेस्क सञ्चालन, खेलकुद र विविध अभ्यासहरूलाई निरन्तरता दिने सहमति पनि भएको छ ।

बैठकमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकारीहरू र भारतीय सशस्त्र सीमाबलका कमाण्डरको समेत उपस्थिति थियो । नेपाल–भारतबिचको यो नियमित बैठकले खुला सीमासम्बन्धी चुनौतीको समाधान गर्न थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसअघि यस्तै प्रकृतिको बैठक भारतको उत्तरप्रदेशस्थित बहराइचमा सम्पन्न भएको थियो ।

Nabintech