५ माघ २०८१, शनिबार
एक महिनामा ६५ फरार प्रतिवादी पक्राउ

  • टाइम्स संवाददाता

  • ५ माघ २०८१, शनिबार १८:३६

नेपालगन्ज-  जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने १३ लाख रुपियाँको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पुस महिनाको प्रगति विवरण अनुसार विभिन्न अपराध गरी लामो समयदेखि फरार रहेका ६५ जना प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपियाँ जरिवाना असुल उपर गर्न बाँकी छ। फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

त्यसैगरी पुस महिनामा प्रहरीले भारतबाट अवैधरुपले भन्सार छली गरेर ल्याइँदै गरेको १२ लाख ९४ हजार १५८ रुपियाँ बराबरको अवैध सामान जिल्ला प्रहरी बाँकेले बरामद गरेको छ।  एक महिनामा दर्ता भएका ११७ वटा मुद्दामा १२१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदा ५३ वटा मुद्दा फछ्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। दर्ता भएका ६८१ ठाडो उजुरीतर्फ ६६८ फछ्र्यौट भएको र १३ वटा बाँकी निवेदन फछ्र्यौट प्रक्रियामा रहेका छन्।

त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका चार वटा मोटरसाइकल र १० वटा स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको जानकारी दिएको छ भने जानकी गाउँपालिकामा जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै दुई करोड ठगी गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ४४ निवेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको जानकारी दिएको छ। समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ।

Nabintech