कोहलपुर : जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पुस महिनाको प्रगति विवरण अनुसार जिल्लाभर ट्राफिक कारबाहीतर्फ तीन हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ७५ हजार रुपियाँ राजस्व संकलन गरेको छ। अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ७ वटा ट्याक्टर, एउटा टिप्पर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर ४८ हजार आठ रुपियाँ जरिवाना गरेको प्रहरीले जानकारी दिएको छ। सोही दौरानमा तीन जना चालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको छ।
समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ। त्यसैगरी जिल्लाभरमा ट्राफिक प्रहरीले सो अवधीमा २०२ वटा सचेतनामूलक कार्यक्रम गरेको थियो। सचेतना कार्यक्रम अन्तर्गत लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइटलगायत रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।