काठमाडौँ – नेपाली महिला खो खो टोली ऐतिहासिक रुपमा भारतमा जारी खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले ऐतिहासिक रुपमा फाइनलमा स्थान बनायो। नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो। नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ।
नेपाल विश्वकपको फाइनलमा पुगेको कुनै पनि खेलमा पहिलो अवसर हो। नेपालको लागि कुनै पनि खेलको विश्वकप यात्रा नै महत्वपूर्ण मानिँदै आएको बेला तुलनात्मक रुपमा कम लोकप्रिय खो खोमा नेपाल नयाँ इतिहास रच्न सफल भयो। खो खो विश्वकपमा नेपाल अपराजित रहँदै फाइनल प्रवेश गरेको हो। जारी विश्वकपमा नेपालले हालसम्म खेलेको सबै ६ खेलमा जित हासिल गरेको छ। महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले सबै चार खेल जित्दै समूह ‘सी’को विजेताको रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले पराजित गर्दा चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो। यसैगरी क्वार्टरफाइनलमा इरानलाई १०३–८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो। खो खो विश्वकपमै पुरुषतर्फ नेपालले आजै सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्दै छ।