यातायात व्यवस्था कार्यालयको शाखा कार्यालय कोहलपुरमा स्थापना भएको छ । कार्यालय स्थापना भएपछि कोहलपुरबासीहरु हर्षित भएका छन । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बुधबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहमा मन्त्री न्यौपानेले संघीयताको मर्मअनुसार प्रदेश सरकारले सेवा विस्तारमा विशेष जोड दिएको बताए । उनले भने, “जहाँ आवश्यक पर्छ, त्यहाँ सेवा पुर्याउनु प्रदेश सरकारको दायित्व हो । अब भाडाको साँघुरो घरमा कार्यालय राखेर बस्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ। कोहलपुरमा यातायात कार्यालयको स्थापनाले यहाँका बासिन्दालाई नेपालगन्ज धाउनुपर्ने झन्झटबाट मुक्त गराएको छ ।” मन्त्री न्यौपानेले यातायात व्यवस्थामा प्रविधिको प्रयोग र सेवा विस्तारको महत्वमा पनि जोड दिनुपर्ने बताए । उनले उच्चस्तरीय सिसीटिभी जडान गरेर नेपालगन्ज–कोहलपुर सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्न निर्देशन दिए । साथै, भौतिक पूर्वाधार लगाए मन्त्रालयको समन्वयमार्फत समृद्ध लुम्बिनी प्रदेश बनाउने सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीले कोहलपुरमा यातायातको शाखा कार्यालय स्थापना भएसँगै कोहलपुरसहित छिमेकी बैजनाथ र राप्तीसोनारीका सेवाग्राहीहरुलाई लाभ हुने उनले बताए । उनले संघीयताको फाइदा भनेकै नागरिकलाई सहज सेवा पाउनु हो ।
अर्का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णा केसी नमुनाले पनि कोहलपुरमा सरकारी कार्यालयको विस्तार आवश्यक रहेको बताइन् । एकात्मक प्रणालीबाट मुलुक संघीयतामा गइसकेकाले सेवाहरुलाई पनि विकेन्द्रीकरण गर्दै लैजानु अहिलेको आवश्यकता रहेको बताइन् ।
यसअघि कोहलपुरमा मालपोत र नापी कार्यालयले सेवा विस्तार गरिसकेका छन् । यातायात कार्यालयको शाखा उद्घाटन पनि त्यसैको एउटा निरन्तरता भएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य सञ्जुकुमारी थारुले यातायात कार्यालयको शाखा स्थापना भएसँगै कोहलपुरमा विकासको अर्को इट्टा थपिएको बताइन् । उनले अन्य सरकारी कार्यालयहरु पनि कोहलपुरमा आवश्यक रहेको बताइन् । भएका सरकारी कार्यालयहरुलाई कोहलपुरमै राख्ने र अन्य सरकारी कार्यालयलाई कोहलपुरमा ल्याउन प्रदेश सरकारलाई दवाव दिइने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती अधिकारीले सहकार्य र अठोटको कारणले आजको उपलब्धि सम्भव भएको बताउँदै यो कार्यालयले बाँकेको समग्र विकासलाई टेवा पुरयाउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाको लागि नागरिक, सरोकारवाला र राजनीतिक दलहरूको सहकार्यले महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले भने, “कोहलपुरलाई केन्द्र बनाएर यस क्षेत्रको विकासका लागि थप कदम चाल्नेछौँ । यातायात कार्यालयको स्थापनाले कोहलपुरका नागरिकको दैनिकी सहज बनाउनेछ ।” नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्कको भवनमा स्थापना गरिएको हो । कार्यालयले ब्लु बुक, लाइसेन्स नवीकरण, र पटके सेवा प्रदान गर्नेछ ।