काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरफेर भएको छ । लामो समयदेखि अध्यक्ष प्रचण्डको स्वकीय सचिव रहेका रमेश मल्ललाई भूगोलको राजनीतिमा पठाइने भएको छ । माओवादी हेडक्वार्टर स्रोतका अनुसार मल्ललाई स्वकीय सचिवबाट विदा गरेर गोविन्द आचार्यलाई सचिवालयको जिम्मेवारी दिन लागिएको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका आचार्य प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार थिए ।
२०७८ कात्तिकमा जोखवहादुर महरालाई विस्थापित गरेर प्रचण्डको स्वकीय सचिवमा नियुक्त भएका सल्यानका नेता रमेश मल्ललाई पार्टीले अर्को जिम्मेवारी दिने एक नेताले बताए । माओवादी केन्द्रको सोमवारको सचिवालय बैठकमा अध्यक्षको सचिवालयमा हेरफेरबारे सामान्य छलफल भए पनि यसको निर्णय प्रचण्डले नै लिने भएकाले थप केही नभएको ती नेताले बताए । मल्ल र आचार्य दुवैजना केन्द्रीय सदस्य हुन् ।