२२ माघ २०८१, मंगलवार
प्रेस चौतारी दिवसमा चुके र चौधरी सम्मानित

  • टाइम्स संवाददाता

  • २२ माघ २०८१, मंगलवार २०:१७

प्रेस चौतारी दिवसमा  चुके र चौधरी सम्मानित


प्रेस चौतारी नेपाल बाँकेले आफ्नो २७औं स्थापना दिवसको अवसरमा ‘सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ल्याएको अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य मोहम्मद हारुन कादरीले सामाजिक सञ्जाल पत्रकारिताको अभिन्न हिस्सा बन्दै गएको बताउँदै यसले खबर सम्प्रेषणलाई छरितो बनाए पनि गलत सूचना फैलिने जोखिम बढाएको बताउनु भयो।

कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले सामाजिक सञ्जाल पत्रकारहरूका लागि अवसर र चुनौती दुवै बनेर आएको बताउनुभयो।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले सामाजिक सञ्जालले समाचार संकलन, स्रोत व्यवस्थापन र खोज पत्रकारितामा नयाँ सम्भावना थपेको उल्लेख गर्नुभयो।

कार्यक्रममा वरिष्ठ पत्रकार निरज गौतम,नेकपा एमाले प्रचार विभाग प्रमुख निर्मला सुनार, एमाले बाँकेका उपसचिव किशोर थापा लगायतले पत्रकारितामा सामाजिक सञ्जालको प्रभावलाई सही तरिकाले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए।

स्थापना दिवसकै अवसरमा प्रेस चौतारी नेपाल बाँकेले ‘रेशम बिरही सिर्जनशील पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ पत्रकार तथा जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेलाई सम्मानित गरेको छ।
त्यसै गरि ‘क्रियाशील पत्रकारिता पुरस्कार’ बाट नेपाल टेलिभिजन कोहलपुरका पत्रकार कृष्ण चौधरी पुरस्कृत भएका छन्।

कार्यक्रमको प्रारम्भमा प्रेस चौतारी नेपालका नेता झलक गैरेले ‘सामाजिक सञ्जालको औचित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूले सामाजिक सञ्जालको फाइदा र यसले निम्त्याएका चुनौतीबारे आ-आफ्नो धारणा राखेका थिए।

प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डागिको अध्यक्षतामा भएको कार्यक्रममा सचिब देब्रेन्द्र पौडेलले संचालन गरेका थिए।

Nabintech