८ फाल्गुन २०८१, बिहीबार
कार्यसम्पादन मूल्यांकनमा राप्ती सोनारी गाउँपालिका बाँकेमा पहिलो, कोहलपुर सबै भन्दा कमजोर

  • टाइम्स संवाददाता

  • ४ फाल्गुन २०८१, आईतवार २०:०४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा बाँके जिल्लामा राप्ती सोनारी गाउँपालिकाले पहिलो स्थान हासिल गर्न सफल भएको छ।

जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारीले सर्वाधिक अंक प्राप्त गरी उत्कृष्ट स्थान हासिल गरेको हो। आयोगका अनुसार, मूल्यांकनमा राप्तीसोनारी गाउँपालिकाले सबैभन्दा बढी ६० अंक हासिल गरेको छ। त्यस्तै, मूल्यांकनमा दोस्रो भएको स्थानीय तह बैजनाथ गाउँपालिकाले ५९.३ अंक प्राप्त गरेको छ ।

सोही प्रकारले, खजुरा गाउँपालिकाले ५८ अंक, डुडुवा गाउँपालिकाले ५१.५ अंक, नरैनापुर गाउँपालिकाले ४८.७ अंक, नेपालगन्ज नगरपालिकाले ४६.९ अंक, जानकी गाउँपालिकाले ४३.६ अंक र कोहलपुर नगरपालिकाले ३५।२ अंक प्राप्त गरेका छन्।

राप्ती सोनारी गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार नेपाल सरकारले प्रदान गर्ने चार विधाको मूल्यांकनमध्ये लिजा, फ्रा, लिड र वित्त आयोगबाट हुने मूल्यांकनमा राप्तीसोनारीले जिल्लामा पहिलो स्थान हासिल गरेको हो।

गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जिल्लामा पहिलो स्थान हासिल गर्नु गौरवको कुरा भएको जनाउँदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा राप्तीसोनारी जिल्लामै प्रथम भएकोमा गर्व महसुस भएको बताउनुभयो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा बाँकेको कोहलपुर नगरपालिकाले भने सबैभन्दा कम अंक प्राप्त गरेको छ।

प्राप्त अंक चित्त नबुझे सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि उजुरी दिन सकिने आयोगले जनाएको छ।

Nabintech