८ फाल्गुन २०८१, बिहीबार
प्रधानमन्त्री ओली आज दाङ आउँदै, लुम्बिनी प्रदेश सभालाई विशेष सम्बोधन गर्ने

  • टाइम्स संवाददाता

  • ५ फाल्गुन २०८१, सोमबार ०८:२१

दाङ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्दैछन् । आज बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।

बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेगरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम निमन्त्रणा गरिएको थियो । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले आजै दिउँसो घोराहीको सहिद मञ्चमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Nabintech