८ फाल्गुन २०८१, बिहीबार
भयावह बन्दै सडक दुर्घटना : ६ महिनामा १ हजार २३३ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०८१, मंगलवार ०८:०२

चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।

गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सडक दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।

गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । गत मंसिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार गत साउनमा एक हजार छ सय २८ सडक दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार आठ सय ७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मंसिरमा दुई हजार १४ सडक दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको निधन भएको छ ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको संखया घटे पनि मृत्यु हुनेको संख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती ९काठमाडौँ उपत्यका० बाहेकमा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको छ ।

भयावह आत्महत्या

मन्त्रालयका अनुसार चालु आवको छ महिनामा तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल संख्या घटेको छ ।

यस्तै, गत मंसिरको तुलनामा पुसमा आत्महत्याको संख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मंसिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ ।

साइबर अपराध

मन्त्रालयका अनुसार चालु आवको छ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार एक सय ८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् ।

यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका सात सय ३१ र टिकटकसँग जोडिएका एक सय ५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०/८१ मा कुल १९ हजार सात सय ३०, आव २०७९/८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।

Nabintech