नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दा खेलको १०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । सोमबारबाट दशरथ रंगशालामा सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत किर्गिस्तानसँग सुरुआतमा निकै आक्रामक खेलेको नेपालले गोल थप्न नसक्दा १० मिनेटको गोल नै निर्णायक बन्न पुग्यो ।
खेलको १० मिनेटमा सविता रानामगरको पासमा नेपालकी बिमला चौधरीले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । पहिलो गोल गर्दा नेपालले किर्गिस्तानविरुद्ध थप गोल गर्ने अनुमान धेरैले लगाएका थिए । तर, नेपालले खेल अवधिभर राम्रा अवसर पाएपनि गोल भने थप्न सकेन । त्यसकारण ६ वर्षअघि ८–२ ले आफ्नो पक्षमा पारेको नेपालले अहिले १–० को संघर्षपूर्ण जित निकाल्नुपर्यो ।
पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले हानेको बल गोल पोष्टको बारमा लागेर फर्कियो । रिबाउन्ड बललाई पुनः सविता रानाले प्रहार गरिन् । त्यो बलमा पनि पुनः बारमा लाग्न पुग्यो । बारबाट फर्किएको बललाई रेखा पौडेलले प्रहार गरिन् । तर, त्यसपटक भने किर्गिस्तानका डिफेन्डरले विफल बनाइदिए । खेलको ८१औं मिनेटमा सविताको प्रहार किर्गिस्तानको गोलरक्षक विट भएपनि गोल पोष्टभन्दा थोरै बाहिरबाट बाहिरिएको थियो ।
खेलको अधिकांश समय नेपाल खेलमा आक्रामक बन्यो । नेपालले धेरै पटक डिबक्सभित्र बल पु¥याए पनि किर्गिस्तानका डिफेन्डरले त्यसलाई विफल बनाइदिए । खेलअघि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीको बलियो पक्ष फरवार्ड लाइन भएको बताएका थिए ।
तर, कीर्गिस्तानसँग त्यहि फरवार्ड लाइन चल्न सकेन । फुटबलकै स्टार सावित्रा भण्डारी र रेखा पौडेलले किर्गिस्तानविरुद्ध चमत्कार गर्न सकेनन् । रेखा सुरुआती टोलीमै थिइन् भने सावित्रा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् । युरोपबाट बिहान मात्रै आएकी उनीले पहिलो खेलमै मैदान छिरेकी थिइन् । रेखा भने आइतबार नेपाल आएकी हुन् ।
खेलका क्रममा बल अधिकांश समय नेपालको नियन्त्रण रह्यो । किर्गिस्तानका खेलाडीले मिडलाइन खासै पार गर्न सकेनन् । उनीहरु रक्षात्मक फर्ममा अधिकांश समय विताए । नेपालले धेरै पटक गोलका लागि अवसर पायो । तर, फिनिसिङमा चुक्दा नेपालले एक गोलमा चित्त बुझाउनुपर्यो ।
नेपालले अब दोस्रो खेल फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग खेल्नेछ । ४ देश सम्मेलिन च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।