पाकिस्तानको बलुचिस्तान प्रान्तको बरखान जिल्लामा बन्दुकधारीहरूले गाडीबाट ओरालेर गोली हानी सात जनाको हत्या गरेका छन् । पहिचान नखुलेका बन्दुकधारीहरूले गाडीबाट सात जना यात्रुलाई जबरजस्ती ओरालेर परिचयपत्र जाँच गर्ने क्रममा हत्या गरेका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
बरखानका डेपुटी कमिस्नर वकार खुर्शीदले क्वेटाबाट लाहोरतर्फ गुडिरहेको यात्रुवाहक गाडीमा गोली चलाएको बताउनुभयो । ज्यान गुमाउनेहरू पाकिस्तानको पञ्जाबका रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अफगानिस्तान र इरानको सिमाना जोडिएको बलुचिस्तान पाकिस्तानको पृथकतावादी विद्रोहीहरूविरुद्धको लडाइँको मुख्य युद्धभूमि हो । पृथकतावादी समूहले ठूलो स्वायत्तता र यस क्षेत्रको प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको रोयटर्सको खबरमा उल्लेख छ ।
पछिल्ला महिनाहरूमा सुरक्षा बल, चिनियाँ पूर्वाधार परियोजना र पञ्जाब प्रान्तका कामदारहरूमाथि आक्रमणका घटना वृद्धि भएको छ । यसअघि गएको अगस्टमा सशस्त्र विद्रोहीले राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या गरेका थिए ।