कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन्। आज आयोजित कोपिला भ्याली स्कूल वीरेन्द्रनगर– ४ सुर्खेतको १५औं स्थापना दिवस समारोहमा उनले कर्णालीको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुधारका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने बताए ।
कर्णालीको शैक्षिक उन्नयनमा कोपिला भ्याली स्कूलले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्री कँडेलले शिक्षा मात्र नभई पछिल्लो समय उक्त स्कुल पर्यटकीय एवं रमणीयस्थलका रूपमा विकास हुँदै गएकामा खुसी व्यक्त गरे । उनले ऋण काढेर शिक्षाका निम्ति अमेरिका युरोप जानेहरूका अगाडि नेपालमै कर्म गरेर विश्वमा नमूना काम गर्न सकिँदो रहेछ भन्ने शिक्षा स्कूलले दिएको उनको भनाइ छ ।
मुख्यमन्त्री कँडेलले सामुदायिक विद्यालयको अवस्था सुधारका लागि कोपिला भ्याली सहयोगी बन्नसक्ने समेत बताए । ुकर्णालीप्रति म्यागी डोयन, टोपबहादुर मल्लको योगदान र कोपिला भ्यालीले शैक्षिक सूचक बढाउन खेलेको भूमिका प्रशंसनीय छ । बरु यहाँ भएको सिकाइ अभ्यास र गतिविधिहरू सामुदायिक विद्यालयसँग आदान–प्रदान गर्दा यसले शैक्षिक क्षेत्रको सुधारमा राम्रै सहयोग पुग्ला, उनले भने ।
मुख्यमन्त्री कँडेलले प्लास्टिकमुक्त नगरपालिका घोषणाका लागि नगरप्रमुख, वडा नम्बर ४, यहाँको टोल विकास समिति र कोपिला भ्यालीबीच सहकार्यका लागि आग्रह गरे ।