प्रेमविवाहको विषयलाई लिएर पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा भएको दुई समूहबीच झडपमा घाइते स्थानीय एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
झडपमा ११ जनपथ प्रहरी, ४ सशस्त्र प्रहरी र ६ स्थानीय गरी २१ जना घाइते भएका छन् । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र छोटकी कुस्माका दुई समूहबीच विवाद हुँदा स्थिति तनावपूर्ण बनेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले सो घटनामा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय विजय धवलको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जानकारी नेपाल प्रेसलाई दिए ।
स्थानीयका अनुसार, हिजो केटा पक्षका एक जनालाई केटी पक्षका समूहले कुटपिट गरेपछि केटा पक्षका व्यक्तिहरू सोधपुछ गर्न केटी पक्षको घर पुगेका थिए । सोही क्रममा विवाद बढ्दै गएपछि आगजनीको प्रयास भएपछि झडप भएको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गर्नुका साथै ३ राउण्ड हवाई फायर गरेको थियो । झडपकै क्रममा प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय महेशपुरको एउटा गाडीमा समेत आगजनी गरेपछि स्थिति थप तनावग्रस्त भएको थियो ।
घाइतेमध्ये केटा पक्षका विजय धवलको मृत्यु भएको छ भने ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, हाल स्थिति नियन्त्रणमा आइसकेपनि घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट डीएसपीको कमान्डमा ६३ जना, नं २६ गण पश्चिम नवलपरासीबाट डीएसपीको कमाण्डमा ४५ जना, नं २७ गण रुपन्देहीबाट इन्सपेक्टरको कमाण्डमा ३५ जना र सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटबाट इन्सपेक्टरको कमाण्डमा ३५ गरी १७८ जना सशस्त्र प्रहरी खटिएको सुरक्षा अधिकारीले जनाएका छन् ।