कोहलपुर : ३०औँ वन्यजन्तु सप्ताहको अवसर पारेर बाँकेमा विश्व वन्यजन्तु संरक्षण पत्रकार मञ्च (डब्लूडब्लूसीजेएफ) गठन गरिएको छ । सप्ताहको छैटौँ दिन शनिबार चुरे क्षेत्रमा पुगेर मञ्चको औपचारिक घोषणा गरिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) वीरेन्द्रप्रसाद कँडेलले मञ्च गठनको औपचारिक घोषणा गर्दै संरक्षणमा काम गर्नेगरी पत्रकारहरु संगठित भएकोमा खुसी व्यक्त गरे । उनले निकुञ्ज सदैव यस्ता संस्थाहरुसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरे । ‘संरक्षणकै क्षेत्रमा काम गर्ने गरी पत्रकारहरु एकजुट हुनु खुसीको कुरा हो,’ प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ थियो, ‘निकुञ्ज सधैँ यस्तो कार्यमा हातेमालो गरेर अगाडि बढ्न तयार छ । मञ्चलाई हामी आर्थिक, भौतिक र नैतिक हरेक हिसाबले सहयोग गर्न तयार छौँ ।’
संरक्षणका क्षेत्रमा भइरहेका गतिविधिहरु प्रवाह गर्न सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने भन्दै प्रमुख संरक्षण अधिकृत कँडेलले सही सूचना प्रवाह गरेर मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण, निकुञ्जलाई स्थानीयबासीका लागि आयआर्जनका लागि उपयोग गर्नुपर्नेमा जोड दिए ।
घोषणा सभा बाँके राष्ट्रिय निकुञ्जकै सबैभन्दा अग्लो स्थान चुरेको चौतारेडाँडोमा आयोजना गरिएको थियो । वार्डेनसहित पत्रकार र संरक्षणकर्मीहरुको टोली शनिबार बिहान हाइकिङ गर्दै सो डाँडोमा पुगेको थियो । सोही डाँडामा एक सानो औपचारिक कार्यक्रमको आयोजना गरेर मञ्च गठनको औपचारिक घोषणा गरिनुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण र स्थानीयको आयआर्जनमा जोड दिने कुरामा सबैले ऐक्यबद्धता जाहेर गरेका थिए ।
सो अवसरमा बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, होमस्टे एसोसिएसनका केन्द्रीय महासचिव कृष्ण चौधरी, नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाँगीलगायतले नवगठित मञ्चको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए
मञ्चको गठनको उद्देश्यबारे प्रकाश पार्दै नवगठित मञ्चका अध्यक्ष हुमहरि भट्टराईले व्यक्तिगत तवरले छिटपुट रुपमा संरक्षणका क्षेत्रमा कलम चलाउँदै आए पनि संगठित रुपमै संरक्षणमा काम गर्ने गरी मञ्च गठन गरिएको जानकारी दिए । उनले सकभर संरक्षणमा काम गरिरहेका, मध्यवर्ती क्षेत्र वा निकुञ्ज क्षेत्रका पत्रकारहरुलाई मञ्चमा प्राथमिकता दिइएको बताए । संरक्षणका क्षेत्रमा काम गरिरहेका साझेदार संस्था र सरोकारवालाहरुसँग मिलेर काम गर्न मञ्च सदैव तत्पर रहेको उनले बताए ।
नवगठित मञ्चका उपाध्यक्ष विष्णुप्रसाद बेल्बासेले स्वागत मन्तव्य व्यक्त गर्दै मञ्चमार्फत सरोकारवालाहरुसँग मिलेर धेरै सकारात्मक काम गर्न सकिने धारणा राखेका थिए । मञ्चका महासचिव सनत सापकोटाले सञ्चालन गरेको सो कार्यक्रममा रण बम गणका गणपति प्रमुख सेनानी (कर्णेल) प्रवीण थापाको समेत उपस्थिति रहेको थियो ।
नवगठित मञ्चको उपाध्यक्षमा बाँकेबाट विष्णु बेल्बासे, महासचिवमा बर्दियाबाट सनत सापकोटा, सचिवमा कञ्चनपुरबाट प्रभुनिधि पन्त, कोषाध्यक्षमा कपिलवस्तुबाट विष्णु भुसाल तथा सदस्यहरुमा रेशम अधिकारी र भूपेन्द्र बस्नेतलाई चयन गरिएको छ ।
मञ्चमा कन्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लाका पत्रकारहरुको आबद्धता रहने अध्यक्ष भट्टराईले जानकारी दिए । हाल सात सदस्यीय सानो कार्यसमिति बनाइएको भए पनि आवश्यकता अनुसार अन्य जिल्लाहरुलाई समेत समेट्दै जाने भट्टराईले बताए ।