कोहलपुर : नेपाल वन प्राविधिक संघ लुम्बिनीको नयाँ कार्यसमिति चयन गरिएको छ । प्रजातान्त्रिक वन प्राविधिक संघका उम्मेदवार केशर खड्का अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा सूर्यप्रसाद मैनाली, सचिवमा रोबर्ट महरा र अनुपा सिलवाल तथा कोषाध्यक्षमा राघवेन्द्र प्रताप चौधरी चयन भएका छन् । कार्यसमिति सदस्यमा नवराज शाही, नवीन पाण्डे, भावना रिजाल, कविता गैरे, एजाज अन्सारी र कमला सुनार निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशमा ७ हजारभन्दा बढी वन प्राविधिक मतदाता छन्, जसमा १६ सय सरकारी कर्मचारी छन् । संघीय संरचनापछि लुम्बिनीमा प्रदेशस्तरीय निर्वाचन सम्पन्न गर्ने यो पहिलो प्राविधिक संस्था बनेको नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिए ।
अध्यक्ष खड्काले वन व्यवस्थापनमा सम्वद्र्धन प्रणालीलाई सुदृढ बनाउने, वन विज्ञहरूलाई प्रमाणपत्र वितरणका लागि नेपाल वन परिषद् केन्द्रमा स्थापना गर्ने र प्रदेशभर पर्याप्त दरबन्दी सिर्जना गर्न पहल गर्ने योजना प्रस्तुत गरे ।
उनले नेपालमा प्रशस्त वन क्षेत्र हुँदाहुँदै विदेशी काठ आयात हुनु दुर्भाग्यपूर्ण भएको बताए र यस अवस्थालाई रोक्न संघले नीतिगत पैरवी गर्ने प्रतिबद्धता जनाए ।