१२ जेष्ठ २०८२, आईतवार
सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

  • टाइम्स संवाददाता

  • १२ जेष्ठ २०८२, आईतवार २१:२०

सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरमा पहिलो शाखा निर्माणको काम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका ४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको हो ।

पूर्वी मूल नहरमा पानी चलेपनि आयोजना कार्यालयले आफ्नै शाखा नबनाएको जनाउँदै अहिले पहिलो नयाँ शाखा निर्माण गर्न सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो । उहाँले स्थानीयले यसअघि ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर खेतबारीमा सिँचाइ गर्दै आएको जनाउँदै अब पूर्वी मूल नहरमा पहिलो नयाँ शाखा निर्माण गर्न लागिएको बताउनुभयो । सबैको सहयोगले गर्दा पूर्वी मूल नहरमा पहिलो शाखा नहर निर्माणको चरणमा आईपुगेको जनाउँदै आयोजना प्रमुख आचार्यले छिट्टै सो शाखा निर्माण पुरा हुने पनि बताउनुभयो ।

सिक्टा सिँचाइ आयोजनाका इन्जिनियिर विनेश श्रेष्ठका अनुसार गुरुयोजना अनुसार उक्त शाखा नहरको लम्बाई चार किलोमिटर रहनेछ । शाखा नहरको १।४ किमीबाट प्र–शाखा नहर निर्माण गरिने र शाखामा तीन वटा जति प्र–शाखा नहर रहनेछ । शाखा नहर निर्माणको जिम्मा पि।एस। निर्माण सेवाले पाएको छ । यसका लागि पाँच करोड ७९ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।

शाखा नहरबाट ६७० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाका इन्जिनियिर श्रेष्ठले बताउनुभयो । शाखा नहरबाट सतह सिँचाइ गर्न नसक्ने क्षेत्रमा पानी पुर्याउन लिफ्ट सिँचाइको वैकल्पिक व्यवस्था गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ ।

लिफ्ट सिँचाइका लागि पनि साढे पाँच करोड रुपियाँमा ठेक्का लागेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । सतहबाट नभेटेको क्षेत्रमा सिँचाइको व्यवस्था मिलाउन लिफ्ट सिँचाइ बनाउन लागिएको आयोजनाले जनाएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा पहिलो शाखा निर्माण सुरु गरेकोमा किसानहरु उत्साहित बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, यस क्षेत्रका किसानलाई पानी चाहिएको छ, मुआब्जाको विषयलाई पनि सँगसँगै समाधान गरेर काम अगाडी बढाउनुपर्छ । राप्ती सोनारीको वडा नम्बर १ बाहेक सबै वडामा सिक्टाले छोएपनि सतह सिँचाइ नपुग्ने ठाउँमा वैकल्पिक व्यवस्था पनि गरिदिनु आवश्यक छ ।ू

Nabintech