काठमाडौं – गृहमन्त्री रमेश लेखकले नियोजित र षड्यन्त्रपूर्ण ढंगले आफूमाथि आक्रमण भइरहेको बताएका छन् । भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’
उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको भन्दै सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे ।
‘अख्तियारको अनुसन्धानको विषयलाई लिएर यसमा मन्त्रीको पनि संलग्नता छ भनेर प्रचारप्रसार भएका छन् । सबैभन्दा पहिला यो जसरी यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएका छन्, यो असत्य कुरा हो । मेरो कुनै संलग्नता छैन,’ उनले भने ।