शिक्षक, अभिभावक र विद्यार्थीबीच प्रभावकारी समन्वय हुने हो भने सामुदायिक विद्यालय पनि सानदार बन्न सक्छन् भन्ने उदाहरण हो, बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालय । यो विद्यालयमा विद्यार्थीको आकर्षण त छ नै, नतिजा पनि उत्कृष्ट छ ।
बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने ज्ञानोदय माविमा २ हजार १०८ विद्यार्थी अध्ययनरत छन् । यसै वर्ष अन्य विद्यालय छाडेर २५१ जना विद्यार्थी भर्ना भएका छन् ।
विद्यार्थीको चाप बढ्दै गएपछि ४३ वटा थप अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । विद्यार्थीको अनुपातमा शिक्षक संख्या कम भएकोले निजी स्रोतबाट थप १५ जना र १३ जना अन्य कर्मचारी भर्ना गरेर गरी पठनपाठन सञ्चालन गरिएको छ । पछिल्ला दिनहरूमा शिक्षक विद्यार्थीको अनुपात ३५ः२ छ ।
ज्ञानोदय माविको एसईई र प्लस टु परीक्षाको रिजल्ट पश्चिम नेपालका अन्य सामुदायिक विद्यालयको तुलनामा उत्कृष्ट छ । विद्यालयका सहायक प्रधानाध्यापक यमनारायण महतोका अनुसार गत वर्ष एसईई परीक्षा दिएका १९५ जना विद्यार्थीमध्ये ११ जनाले ए प्लस अंक प्राप्त गरेका थिए । परीक्षा दिएका विद्यार्थीमध्ये ९० प्रतिशत उत्तीर्ण भएका थिए ।
यो वर्ष कक्षा १० मा १७८ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा पनि विद्यार्थीको चाप अत्यधिक छ । गत वर्ष प्लस टु पढ्ने विद्यार्थीको संख्या ५६३ पुगेको थियो । प्लस टुको सिकाइ उपलब्धि ५८.६६ र उत्तीर्ण हुने प्रतिशत ६१ छ ।
कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पढाइ
अभिभावकको चाहना अनुसार ज्ञानोदय माविले कक्षा १ देखि ६ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ । ६ देखि १० सम्म विद्यार्थीलाई उनीहरूको चाहना अनुसार नेपाली र अंग्रेजी दुवै माध्यममा पढाउने व्यवस्था मिलाइएको छ । कक्षा ५ पूरा गरेर ६ कक्षामा भर्ना हुन आउने विद्यार्थीलाई अंग्रेजी र नेपाली दुवै माध्यममा पढ्न पाउने व्यवस्था मिलाइएको छ ।
कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पढाइ शुरू भएपछि विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढ्दैछ । विद्यार्थीको चाप बढ्दै गए प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरिएकोे विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भक्तबहादुर केसीले बताए ।
शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैको सामूहिक प्रयासका कारण ज्ञानोदय मावि सिकाइ उपलब्धि र नतिजाका हिसाबले बाँके जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको पूर्वअध्यक्ष केसी बताउँछन् ।
एमबीएस, इन्जिनियरिङ जस्ता विषयमा छात्रवृत्तिका लागि कक्षा ६ देखि नै सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई प्राथमिकता दिने सरकारको नीति छ ।
पढाइमा राम्रो भएका, डाक्टर र इन्जिनियर हुने लक्ष्य राखेका विद्यार्थीको रोजाइमा परेका कारण ज्ञानोदय माविमा विद्यार्थी चाप वर्षेनि बढ्दै गएको छ । ज्ञानोदय माविमा २०७३ सालमा प्राविधिक सिभिल इन्जिनियरिङतर्फ कक्षा ९ को पढाइ शुरू भयो । २०७३ सालमा शिक्षा मन्त्रालय शिक्षा विभागबाट नमूना माविमा छनोट भएको थियो । २०७४ बाट प्राविधिक धार सिभिल इन्जिनियरिङ सञ्चालन भएको छ । २०७६ सालमा कक्षा ११/१२ मा विज्ञान संकाय स्वीकृत लिई सञ्चालन भइरहेको छ ।
आर्थिक वर्ष २०७५र७६ देखि हालसम्म नमूना मावि विकास बजेटबाट ३७ वटा कक्षाकोठा, डेस्क बेन्च, १०० नयाँ डेस्कबेन्च सेट निर्माण, ३० वटा छात्रछात्रा र स्टाफ शौचालयको निर्माण, प्राविधिक तथा विज्ञान र कम्प्युटर ल्याबको व्यवस्थापन गरिएको छ ।
विद्यालयलाई सूचनाप्रविधिमैत्री विद्यालय बनाउनको लागि एक शिक्षक एक ल्यापटप, शिक्षकको क्षमता विकास तालिम, अंग्रेजी माध्यममा पठनपाठन शुरू गरिएको छ ।
ज्ञानोदय माविमा धेरै विद्यार्थी हुनुको मुख्य कारण विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गर्नु, विद्यार्थीको पोशाक बोर्डिङ स्कूलकै जस्तो टाइ र जुत्ता सहितको हुनु, कक्षा ८ सम्म निःशुल्क पठनपाठन हुनु र ९ देखि १२ कक्षामा पनि बोर्डिङ स्कूलको भन्दा धेरै सस्तो शुल्क र गुणस्तरीय पठनपाठन हुनु हो । यो विद्यालयमा कक्षा ९ र १० मा पनि नेपाली माध्यमबाट पढ्ने विद्यार्थीलाई मासिक शुल्क लाग्दैन तर अंग्रेजी माध्यमबाट ९ कक्षामा ९०० र १० कक्षामा १ हजार फि लाग्छ ।
२०७७ सालदेखि ज्ञानोदय माविले कक्षा ११ र १२ का कक्षाहरू निजी स्रोतबाट शिक्षक र प्रयोगशालाको व्यवस्थापन गरी सञ्चालन गर्दै आएको छ । कक्षा ११ र १२ मा ५६३ जना विद्यार्थी अध्ययनरत छन । प्लस टुमा भने विषय अनुसार मासिक ६०० देखि १ हजार मासिक फि लाग्छ । ९ देखि १२ कक्षाका विद्यार्थीबाट लिइने मासिक शुल्क विद्यालयको मुख्य आम्दानीको स्रोत बनेको छ ।
प्रधानाध्यापक ऋषिराम सापकोटा भन्छन्, ‘विद्यालय राम्रो हुन विषयगत अनुभवी शिक्षक मात्रै भएर हुँदैन । विद्यालय भवन, प्रयोगशाला, पुस्तकालय, खेल मैदान, खानेपानी, शौचालय जस्ता भौतिक पूर्वाधार र विद्यालयभित्र खेल्दै रमाउँदै पढ्ने वातावरण सहित राम्रो व्यवस्थापन चाहिन्छ । यी सबै पक्षलाई ध्यान दिएर हामीले विद्यालय सञ्चालन गर्दै आएका छौं ।
२०३४ सालमा स्थापना भएको ज्ञानोदय मावि तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र, हालको लुम्बिनी प्रदेश र बाँके जिल्लास्तरमा पटक–पटक उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ । ज्ञानोदय माविको शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको सदस्य र अभिभावकभन्दा नै एक किसिमको छुट्टै शान हुने पूर्वअध्यक्ष केसी बताउँछन् ।
पहिलेको तुलनामा विद्यालयको शैक्षिक गुणस्तर थप राम्रो होस् भन्ने लक्ष्यका साथ शिक्षक र व्यवस्थापन समितिले निरन्तर मिहिनेत गर्दै आएका छन् । पहिलेको भन्दा विद्यालयको स्तर नखस्कियोस् भन्ने सोच राखेर मिहिनेत गरेका कारण विद्यालयको स्तरमा सुधार हुँदै गएको छ ।
आफूले रोजेको पेशा र शिक्षकको रूपमा केही गरौं भन्ने सोच भएका कारण विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयको व्यवस्थापन पक्षमा सुधारका कामहरू गरिरहेको सहायक प्रधानाध्यापक महतो बताउँछन् ।
बालविकास नर्सरी, यू केजीमा पढ्ने बालबालिकालाई आकर्षित गर्न बालमैत्री कक्षा कोठा निर्माण गरी त्यसै अनुरूप खेल तथा शैक्षिक सामग्रीको व्यवस्था, शिक्षकहरूलाई तालिम र तलबका अतिरिक्त थप मासिक ३ हजार भत्ता दिने गरिएको छ ।
जसले गर्दा ज्ञानोदय माविमा नर्सरीमै भर्ना हुने विद्यार्थीको चाप छ । नर्सरी र बालविकास तहमा मात्रै ३१८ विद्यार्थी भर्ना भएका छन् । अझै पनि विद्यार्थी भर्ना हुने क्रम जारी नै छ । नर्सरी र बालविकास तहका विद्यार्थीको सिकाइ उपलब्धि ७८ प्रतिशत छ ।
खेल्दै रमाउँदै सिक्ने वातावरण भएका कारण विद्यार्थीको चाप र सिकाइ उपलब्धि दुवै राम्रो हुँदै गएको अनुभव सहायक प्रधानाध्यापक महतोको छ ।
ज्ञानोदय माविले कक्षा १ देखि ८ सम्म पूर्ण रूपमा निःशुल्क गरेको छ । विद्यार्थीले वर्षमा एक पटक परीक्षा शुल्क ३०० बाहेक अन्य कुनै शुल्क तिर्नुपर्दैन ।
कोचिङ पढ्ने र बसमा आउने–जाने विद्यार्थीले भने थप ६र६ सय शुल्क तिनुपर्छ । बसमा नआउने र कोचिङ नपढ्नेले भने त्यो शुुल्क तिर्नुपर्दैन ।
विद्यालयमै कोचिङ कक्षा
शैक्षिक गुणस्तरसँगै एसईईको नतिजा सुधार गर्न विद्यालयले माविमा कक्षा ८, ९ र १० का विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको असारदेखि चैतसम्म कोचिङ कक्षा सञ्चालन गर्दै आएको छ ।
विद्यालयदेखि नजिक घर भएका विद्यार्थीका लागि बिहान दुई वटा विषय र साँझ एउटा विषयको कोचिङ कक्षा सञ्चालन हुन्छ । विद्यालयबाट टाढा भएका विद्यार्थीका लागि बिहान एउटा र साँझ दुई वटा कक्षा सञ्चालन हुन्छ । कोचिङ कक्षामा पढेबापत एक जना विद्यार्थीले मासिक ६०० रुपैयाँ शुल्क तिर्नुपर्छ ।
राम्रो अंक ल्याउनका लागि विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिएको छ । अतिरिक्त कक्षा अर्थात् ट्युसनका लागि विषयअनुसार शिक्षकहरूको घरमा जानुपर्ने, धेरै शुल्क तिनुपर्ने अवस्था आएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक–विद्यार्थी बीच पटक–पटक छलफल गरेर विद्यालयमै कोचिङ कक्षा शुरू गरिएको प्रधानाध्यापक सापकोटाले बताए ।
विद्यालयकै दक्ष शिक्षकबाट विद्यालयमै कोचिङ सञ्चालन हुँदा विद्यार्थीले अंग्रेजी, गणित र विज्ञान विषय दोहोर्याएर पढ्न पाएका छन् । कोचिङ कक्षामा तीन विषय पढेबापत मासिक शुल्क तिनुपर्छ ।
विद्यालयमै अनुभवी शिक्षकबाट कोचिङ कक्षा सञ्चालन हुँदा अभिभावकलाई आर्थिक भार कम पर्ने, विद्यार्थीको समय बचत हुने, कोचिङ पढाउने शिक्षकलाई तलबका अतिरिक्त मासिक २५ देखि ४० हजारसम्म थप आम्दानी हुने गरेको छ ।
विद्यालय र कोचिङमा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी उनै हुन्छन् । दोहोर्याएर पढ्दा र पढाउँदा राम्रो नतिजा आउनुपर्छ भन्ने मनोवैज्ञानिक दबाब शिक्षक र विद्यार्थी दुवैमा हुन्छ । जसले गर्दा शिक्षक र विद्यार्थीले नै मिहिनेत गर्ने भएकाले परीक्षामा राम्रो नतिजा आउने गरेको अनुभव प्रधानाध्यापक सापकोटाको छ ।
ज्ञानोदय माविले कक्षा १० मा पढ्ने विद्यार्थीका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यालयमै रहनुपर्ने नियम बनाएको छ । विद्यार्थीहरू बिहान ६ बजे खाजा खाएर विद्यालय आउँछन् । घर नजिक हुने विद्यार्थी खाना खान छुट्याइएको समयमा घर गएर खाना खाएर फर्किन्छन् । टाढा घर भएका केही विद्यार्थीले खाना लिएर आउँछन् । केही विद्यार्थीका भाइ–बहिनीहरू विद्यालय आउँदा दाइ–दिदीका लागि खाना ल्याइदिन्छन् । केहीले विद्यालयको क्यान्टिनमै खान्छन् । केही विद्यार्थीका अभिभावकले खाना ल्याइदिन्छन् ।
दिनभर विद्यालयमै रहँदा विद्यार्थीमा पढ्ने र राम्रो अंक ल्याएर पास हुनुपर्छ भन्ने भावना जागृत हुन्छ । घरमा पढ्दै नपढ्ने, मोबाइल चलाएर, टिभी हेरेर बस्ने विद्यार्थीहरू पनि विद्यालयमै हुँदा पढ्छन् । विद्यालयमै खाली समयमा खेल्छन् । विद्यालय परिसरमै शिक्षकको निगरानीमा रहँदा विद्यार्थी पढाइ र परीक्षाको तयारी राम्रो हुने गरेको प्रधानाध्यापक सापकोटाले बताए ।
विद्यालयको आफ्नै बस
ज्ञानोदय माविले नमूना माध्यमिक विद्यालय विकास योजना र गाउँपालिकाबाट प्राप्त गरेको अनुदानबाट दुई वटा बस सञ्चालन गर्दै आएको छ ।
विद्यालय बस सञ्चालन भएपछि टाढाका विद्यार्थीहरू बसमै चढेर विद्यालय आउन–जान सक्ने भएका छन् । बसमा आउने विद्यार्थीबाट विद्यालयले प्रति विद्यार्थी मासिक ६०० रुपैयाँ दिने गरेको छ । विद्यालय बस सञ्चालन गर्दा विद्यार्थी लाभान्वित भए पनि बस सञ्चालन खर्च जुटाउन भने विद्यालयलाई हम्मे परेको पूर्वअध्यक्ष केसीले बताए ।
ज्ञानोदय माविले विद्यालयका सबै शिक्षकलाई एक शिक्षक एक ल्यापटप दिएर सूचना र प्रविधिमैत्री बनाएको छ । ल्यापटपबाट विभिन्न शैक्षिक सामग्री प्रयोग गरी पठनपाठन सञ्चालन गर्दै आएको छ ।
विद्यालयले भदौ, पुस र चैत गरी वर्षमा तीन पटक परीक्षा सञ्चालन गर्छ । नतिजा प्रकाशित हुने दिन अभिभावकलाई अनिवार्य रूपमा विद्यालय आउनुपर्ने नियम बनाएको छ । रिजल्ट लिन आउने अभिभावकलाई विद्यार्थीको सिकाइ उपलब्धिका बारेमा क्लास टिचरले जानकारी गराउँछन् । अभिभावकहरूले विषयगत शिक्षक, सहायक प्रधानाध्यापक, प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारीसँग पनि अन्तरक्रिया गर्ने व्यवस्था गरेको छ ।
अभिभावकको सल्लाह र सुझावका आधारमा शैक्षिक सुधारका काम अगाडि बढाउन सहज भएको व्यवस्थापन समितिका पूर्वअध्यक्ष केसीले बताए ।
२०७३ सालदेखि ज्ञानोदय माविले प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषयमा कक्षा ९ देखि १२ सम्म पढाइ सञ्चालन गर्दै आएको छ ।
कक्षा ९ मा ४६, कक्षा १० मा ४४, कक्षा ११ मा ४० र कक्षा १२ मा ३८ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ का शतप्रतिशत विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् । प्राविधिक धारमा हुने पढाइले पनि ज्ञानोदय माविमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
सुविधासम्पन्न १० भवन
ज्ञानोदय मावि परिसर करिब दुई बिघा क्षेत्रफलमा फैलिएको छ । विद्यालयमा सुविधासम्पन्न १० वटा भवनका ६६ कोठा, प्रयोगशाला र पुस्तकालयको सुविधा छ । पुस्तकालय, वाचनालय र कक्षागत बुक कर्नरको माध्यमबाट पाठ्यपुस्तक, सन्दर्भ सामग्री ज्ञानवर्धक र साहित्यका पुस्तकहरूबाट पाठ्यक्रमभित्र र बाहिरका ज्ञान समेत विद्यार्थीले आर्जन गर्न सक्ने व्यवस्था मिलाएको छ ।
विज्ञान विषयलाई प्रयोगात्मक बनाउन फिजिक्स, बायोलोजी र क्यामेस्ट्री विषयका छुट्टाछुट्टै प्रयोगशाला निर्माण गरी सञ्चालन गर्दै आएको छ । विद्यालयले बालमैत्री कक्षाकोठा कार्पेटिङ, फर्निचर, बुक कर्नर, सामग्री सहितको कक्षाकोठा सजावटलाई निरन्तरता दिएको छ ।