संयुक्त जनआन्दोलन समितिले काठमाडौं आज गर्ने भनिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । राप्रपा नेपाल र राप्रपा नेताद्वय कमल थापा र दीपक सिंहलगायत पक्राउ परेका व्यक्ति छुटेपछि समितिले बन्द फिर्ता लिएको हो ।
जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राजसंस्था पुनर्स्थापना गर्न माग गर्दै आइतबार काठमाडौंमा भएको प्रदर्शनबाट राप्रपा नेपालका अध्यक्ष थापा पक्राउ परेका थिए । यसैगरी, उनलाई भेट्न प्रहरी परिसर काठमाडौं पुगेका सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राजावादीको बन्द फिर्ता भए पनि आज सडकमा सार्वजनिक सवारी भने कम चलेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गराएका हुन् ।
सार्वजनिक यातायात नचल्दा देशभरका सडकमा कम मात्रै सवारी साधन देखिएका हुन् । सोमबार बिहान काठमाडौं उपत्यकाका सडकमा पनि सार्वजनिक यातायात कमै देखिए ।
यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ुसार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार मजदुर र यातायात गरी नौ वटा संगठनको संयुक्त आयोजनामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको हो । विभिन्न ७ वटा मुख्य माग राखेर यातायात व्यवसायी र मजदुर संगठनहरू आन्दोलनमा उत्रिएका हुन् ।
संघीय ऐनसँग बाझिने गरी प्रदेशहरूले ऐन ल्याउन लागेको र विशेषगरी गण्डकी प्रदेशले राजपत्रमा प्रकाशनगरी निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको (कालो प्लेट) सरह सञ्चालन गर्न लागेको, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागू नगरेकोलगायत माग गरेर आन्दोलन गर्न लागिएको जानकारी सिटौलाले दिए ।
गण्डकी सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पटक पटक आह्वान गरे पनि व्यवसायी गएका छैनन् । प्रदेश सरकारले यसअघि बुधवार र हिजो आइतबार पनि वार्तामा बोलाएको थियो ।