काठमाडौँ – सुदुरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार हाल प्रदेशसभा सदस्य समेत रहेका दोडारीविरुद्ध एक करोड ८ लाख ३८ हजार ३२० रुपैयाँ भ्रष्टाचार गरेको अभियोग दर्ता गरेको हो।
आयोगले सोडारी अघिल्लोपटक प्रदेशसभा सदस्य भएको २०७४ माघ ०७ गतेदेखि मिति २०७९ फागुन १० गतेसम्मको जम्मा पाँच वर्षको आयव्ययका आधारमा सोडारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुद्दा दर्ता भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ।
२०७४ देखि २०७९ सम्म सोडारीले बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक वचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ पाइएको अख्तियारले जनाएको छ।
त्यहीँ अवधिमा सोडारीको परिवारले १ एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगको दाबी छ। यसरी पाँच वर्षको अवधिमा आम्दानीभन्दा खर्च एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बढी आम्दानी गरेर अस्वभाविक जीवन यापन गरेको भन्दै आयोगले मुद्दा दर्ता गरेको हो।