काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारे प्रस्तुति गरेका थिए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लीलादेवी गड्तौला, आयोगका सदस्यहरु र सचिवहरु सहभागी थिए ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने विश्वास दिलाउँदै अन्य काममा कुनै सरकारको दबाब र हस्तक्षेप नहुने स्पष्ट गरे । ‘तपाईँहरु कसैको दबाबमा नपर्नुस् । स्वतन्त्र, निष्पक्ष र निडरताका साथ काम गर्नुस् र सरकारले कुनै हस्तक्षेप र दख्खल गर्दैन । आवश्यक सहयोग गर्छ’, प्रधानमन्त्री ओलीले भने । दुवै आयोगमा यही जेठ ४ गते पदाधिकारी नियुक्त भएका थिए ।