नेपालगन्ज – बाँकेमा चालु आर्थिक वर्ष २०८१/०८२ मा १६ जना सुत्केरी र ८८ वटा शिशुको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले विभिन्न कारणले जिल्लामा १६ जना सुत्केरी आमा तथा ८८ वटा शिशुको चालु आवमा ज्यान गएको बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ को हालसम्म सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा मातृ मृत्यु संख्या पाँच रहेको छ भने शिशु मृत्यु संख्या ६० रहेको छ।
सोही प्रकारले कोहलपुर नगरपालिकामा मातृ मृत्यु संख्या पाँच र शिशु मृत्यु संख्या २० रहेको छ। राप्तीसोनारीमा मातृ मृत्यु शून्य रहेको छ भने शिशु मृत्यु संख्या १ रहेको छ।
यसैगरी बैजनाथमा मातृ मृत्यु सख्या १ र शिशु मृत्यु शून्य रहेको छ। खजुरा गाउँपालिकामा मातृ मृत्यु संख्या १ र शिशु मृत्यु शून्य रहेको छ। जानकीमा मातृ मृत्यु संख्या र शिशु मृत्यु संख्या शून्य रहेको छ।
यस्तै डुडुवामा मातृ मृत्यु संख्या दुई र शिशु मृत्यु संख्या तीन रहेको छ। नरैनापुरमा मातृ मृत्यु संख्या दुई र शिशु मृत्यु मृत्यु संख्या चार रहेको स्वास्थ कार्यालयले जनाएको छ।
बाँकेमा कुल मातृ मृत्यु संख्या १६ र शिशु मृत्यु संख्या ८८ रहेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा मातृ मृत्यु संख्या १८ र शिशु मृत्यु संख्या १२७ रहेको थियो। गत आर्थिक वर्षको तुलनामा चालू आवमा सो संख्या घटेको देखिन्छ।
जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार, जिल्लामा आर्थिक वर्ष २०७९/८० मा मातृमृत्यु संख्या १८ थियो भने शिशु मृत्यु संख्या १४२ रहेका थियो। स्वास्थ कार्यालय बाँकेका निमित्त प्रमुख श्रेष्ठले बाँकेमा मातृ शिशु मृत्यु बढी हुनुका विभिन्न कारण रहेको बताउनुभयो।
उहाँले ती कारणमध्ये मातृ शिशुको स्वास्थ्य चेकजाँच नहुँदा तथा उचित पोषण नहुँदा मातृ शिशु मृत्यु हुने गरेको हो। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमका अनुसार ६ देखि ५९ महिनाका बालबालिकामध्ये ४३ प्रतिशतमा रक्तअल्पता पाइएको छ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख श्रेष्ठले देशभरमा मातृशिशु मृत्युदर लुम्बिनी प्रदेशमा बढी भएको देखिएको जनाउँदै त्यसमा पनि बाँके र कपिलवस्तुको अवस्था निकै गम्भीर रहेको बताउनुभयो। स्थानीय तहमध्ये मातृशिशु मृत्युदर बाँकेको नरैनापुर र नेपालगन्जमा उच्च रहेको छ।