काठमाडौं – विश्वकप लिग २ अन्तरगत स्कटल्याण्डमा जारी श्रृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखको प्रेरणादायी ब्याटिङमा नेपालले बलियो नेदरल्यान्ड्सलाई पाखा लगायो । ब्याटिङका लागि कठिन पीचमा २२६ रनको मध्यम लक्ष्य पछ्याएको नेपाललाई ५ विकेटको जित दिलाउन आरिफले ७८ रनको उत्कृष्ट इनिङ खेले ।
उनले २ छक्का र ७ चौका प्रहार गरेका थिए । आरिफलाई दीपेन्द्रसिंह ऐरीले बलियो साथ दिए । आरिफ र दीपेन्द्रबीच भएको ८९ रनको साझेदारी नै नेपालका लागि निर्णायक बन्यो । संयमित ब्याटिङ गरेका दीपेन्द्रले ५१ बलमा ३ चौकासहित ३८ रन बनाए । ४७.१ ओेभरमा गुल्शन झाले छक्का हान्दै नेपाललाई मिठो जित दिलाएका थिए ।
नेपालले ब्याटिङमा मध्यम सुरूवात गरेको थियो । ओपनर जोडी आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे । आसिफ १९ र कुशल २५ रन बनाएर आउट भए । त्यसैगरि भीम सार्की र रोहित पौडेलले क्रमशः ११ / २३ रन जोडे । रोहित दुर्भाग्यपुर्ण रनआउट हुँदा नेपाल केही दवावमा देखिएको थियो । तर त्यसपछि आरिफ र दीपेन्द्रले नेपाललाई सम्हाले ।