२४ जेष्ठ २०८२, शुक्रबार
बाँकेमा एक बर्षमा बैदेशिक रोजगारी सम्बन्धि समस्यामा परेकालाई १ करोड ३५ लाख आर्थिक सहायता

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८२, बिहीबार २१:३८

नेपालगञ्ज – बाँकेमा बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदार र कामदारका घरपरिवारलाई पछिल्लो एक बर्षमा १ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक बर्ष २०८१/०८२ मा आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका १०३ समस्या मध्ये ४२ वटा समाधान भएका छन् । ६१ वटा समस्या अझै प्रक्रियामा छन् । चालू आर्थिक बर्षमा बाँकेमा ४९ वटा ठगी, १८ जनाको मृत्यु, स्वास्थ्य समस्या भएका ३ जना, जेल २, हराएको १०, उद्धार १५, स्थानीय तहद्वारा रिफर २ र अन्य ४ गरी १०३ वटा समस्या आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका थिए ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन भए यता बाँकेमा हालसम्म ६ करोड ९७ लाख ६२ हजार २ सय ५८ रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको सामीका बाँके जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले जानकारी दिए । नेपालीका अनुसार हालसम्म आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका ४२५ समस्या मध्ये २५१ वटा समाधान भएका छन् । १७४ वटा समस्या अझै प्रक्रियामा छन् ।

नेपालगञ्जमा आज आयोजित पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा सामीका जिल्ला संयोजक नेपालीले बैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, विरामी वा अंगभंग भएका, मृत्यु भएका कामदारका परिवारलाई क्षतीपूर्ति रकम, बीमा रकम लगायतमा सहायता प्रदान गरिएको बताए । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा छ । आगामी आर्थिक बर्षदेखि डुडुवा र राप्तीसोनारीमा सामी कार्यक्रम सञ्चालन हुँदैछ । बाँकेमा आर्थिक बर्ष २०७५/०७६ देखि सामी कार्यक्रम सुरु भएको हो ।

सामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सूचनामा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, न्यायमा पहुँच र निःशुल्क सीप सेवा प्रदान गरिरहेको छ । सामी कार्यक्रम ७७ जिल्लाका २६७ स्थानीय तहमा सञ्चालित छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

Nabintech