काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएको छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स २ सय २० रन बनाउँदै अलआउट भयो । नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान ३र३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई २ सय ३७ रनको मध्यम लक्ष्य दिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । नेपाललाई आफ्नो इनिङमा १० रन घाटा लागेको थियो। मध्यक्रमका ब्याट्सम्यान बसिर अहमद नियम विपरित पिचमा दौडिएको भन्दै अम्पायरले दुई पटक गरी ५–५ रन सजाय गरेका थिए । यो श्रृङखलामा नेपालले ४ खेलमध्ये ३ खेलमा जित निकालेको छ ।