३१ जेष्ठ २०८२, शुक्रबार
दैनिक ३ हजार आप्रवासी समात्न ट्रम्पको निर्देशन, लस एन्जलससहितका राज्यमा सैनिक परिचालन

  • टाइम्स संवाददाता

  • २९ जेष्ठ २०८२, बुधबार २१:२४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘आप्रवासन छापा विरुद्ध चलिरहेको प्रदर्शन रोकिने छाँटकाँट देखिएको छैन । सीएनएनका अनुसार पछिल्लो ५ दिन यता चलिरहेको प्रदर्शनमा प्रहरीले आम गिरफ्तारीको नीति लिएको बताएको छ ।

आन्दोलनका क्रममा तोडफोड र लुटपाट बढेपछि लस एन्जलस शहरका मेयर करेन बासले केन्द्रीय क्षेत्रमा रात्रिकालीन कर्फ्यू लागू गरेकी छन् । मेयर बासले कर्फ्यूको घोषणा गर्दै भनेकी छन्, हामीले एउटा सीमा नाघिसकेका छौं । अब लुटपाट रोक्न र तोडफोड थाम्नैपर्छ ।

करिब एक वर्ग माइलको क्षेत्रमा लागू गरिएको कर्फ्यू मंगलबार राति ८ बजेबाट शुरू भएको हो । कर्फ्यू लागू भएपछि प्रहरीले भीड हटाउन रबरको गोली चलाएको छ तर, शहरका विभिन्न भागमा भीड अझै बढेको र सशक्त भएको सीएनएनले जनाएको छ ।

मेयर बासले मंगलबार मात्रै २०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बताइन् । अघिल्ला दिनमा पनि दर्जनौं पक्राउ परिसकेको प्रहरीले पुष्टि गरेको छ ।

राष्ट्रपति ट्रम्पले गैर-कानूनी आप्रवासीविरुद्धको धरपकड गर्ने आदेश दिएपछि यो आन्दोलन शुरू भएको हो । गत शुक्रबारदेखि ल्याटिन अमेरिकी समुदायको क्षेत्रमा आप्रवासन तथा सीमा सुरक्षा निकाय (आईसीई)ले छापा मारेको छ । यसविरुद्ध शुरू भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको छ ।

राष्ट्रपति ट्रम्पले लस एन्जलसमा ४ हजार नेशनल गार्ड र ७ सय मरिन सैनिक पठाएका छन् । ट्रम्पले खटाएका सुरक्षाकर्मीलाई नागरिक पक्राउ गर्ने अधिकार छैन । उनीहरूलाई सरकारको सम्पत्ति र कर्मचारीको सुरक्षाका लागि खटाइएको ट्रम्पको भनाइ छ ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भने, शहरलाई विदेशी शत्रुबाट जोगाउन हामीले यो कदम चालेका हौं । तर, क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यसलाई ‘लोकतन्त्रमाथिको आक्रमण’ भन्दै निन्दा गरेका छन् ।

गभर्नर न्युसमले राष्ट्रपति ट्रम्पमाथि ‘सशस्त्र बलको अत्यधिक प्रयोग’ गरेको आरोप लगाएका छन् । ‘यस्तो किसिमको गैर-कानूनी धरपकडमा क्यालिफोर्निया पहिलो हुन सक्छ, तर अन्त्य यहीँ हुँदैन । अन्य राज्यहरूमा पनि यस्तै अस्थीरता निम्तिनेछ’, गभर्नर न्युसमले चेतावनी दिए ।​

यसैबीच, राष्ट्रिय गार्डले मंगलबारदेखि आईसीई एजेन्टहरूको दैनिक कारबाहीमा साथ दिन थालेको छ । मरिन फोर्सले संघीय कार्यालय र कर्मचारीको सुरक्षा गरिरहेका छन् । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले सैन्य तैनाथ गर्दा १३४ मिलियन अमेरिकी डलर लागत लाग्ने बताएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनाको फोर्ट ब्राग सैन्य शिविरलाई सम्बोधन गर्दै आन्दोलनलाई शान्ति र सार्वजनिक व्यवस्था माथिको पूर्ण आक्रमण भनेका छन् । उनले आन्दोलनकारीलाई ‘जनावर’ भन्दै यस्तो अराजकता नसहने चेतावनी पनि दिएका छन् ।

ट्रम्पले गभर्नर न्युसम र पूर्वराष्ट्रपति जो बाइडेनको नाम लिएर सैनिकलाई हुटिङ गर्नसमेत आग्रह गरेका थिए । अर्कोतर्फ गभर्नर न्युसमले राज्यको अनुमतिविना नै सैनिक तैनाथ गरिएको भन्दै राष्ट्रपति ट्रम्पमाथि सत्ता दुरुपयोगको आरोप लगाएका छन् ।

अमेरिकी संघीय अदालतले सैनिक तैनाथी रोक्न माग गर्दै क्यालिफोर्निया राज्यले दायर गरेको आपतकालीन निवेदन अस्वीकार गरेको छ । यद्यपि, यो मुद्दामा बिहीबार सुनुवाइ हुने तय भएको छ ।

लस एन्जलस शहरका प्रहरी प्रमुख जिम म्याकडोनेलको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ, ‘कर्फ्यूको उद्देश्य आवाज दबाउने होइन, जनताको ज्यान र सम्पत्ति जोगाउनु हो ।’​

यसैबीच, मेयर बासले आईसीईद्वारा ल्याटिन अमेरिकी मूलका बासिन्दा बस्ने क्षेत्रमा निरन्तर छापा मारिएकै कारण तनाब चुलिएको बताउँदै यसलाई तत्काल रोक्न ट्रम्प प्रशासनसँग माग गरिन् ।

‘यदि शहरमा पुनः शान्ति चाहने हो भने राष्ट्रपति प्रशासनले यो अन्त्य गर्नुपर्छ,’ उनले भनिन् । ट्रम्पविरुद्धको प्रदर्शन केवल लस एन्जलसमा सीमित छैन । देशका अन्य सहरमा पनि तनाव देखिएको छ ।

एटलान्टा र जर्जियामा सयौं प्रदर्शनकारी सहभागी भएको जुलुसमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । त्यस्तै, न्यूयोर्कमा हजारौं प्रदर्शनकारीले तल्लो म्यानह्याटनको मुख्य सडक बन्द गरेपछि दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् भने टेक्सासको स्यान एन्टोनियो शहरमा प्रदर्शन हुने आशंकामा शुरूमै त्यहाँका गभर्नर ग्रेग एबटले नेशनल गार्ड तैनाथ गरेका छन् ।

लस एन्जलसको विभिन्न क्षेत्रमा सोमबार राति २३ वटा पसल र व्यवसाय लुटिएको सीएनएनले जनाएको छ । यद्यपि, आर्थिक क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रदर्शन चलिरहे पनि शहरको अन्य भागमा जनजीवन केही सामान्य देखिएको थियो ।

यसैबीच, राष्ट्रपति ट्रम्पले सीमा सुरक्षा अधिकारीलाई दैनिक कम्तीमा ३ हजार आप्रवासी पक्राउ गर्ने लक्ष्य दिएका छन् । राष्ट्रपति भएयता ट्रम्पले गैरकानूनी आप्रवासन न्यून स्तरमा झारेको दाबी गरेका छन् ।

Nabintech