काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सभामुख देवराज घिमिरेले सदन खुलाउने वातावरण बनाउन आग्रह गरेका छन् । संसद् अवरोध खुलाउने विषयमा सभामुखसँग भएको छलफलमा सभामुखले यस्तो आग्रह गरेका हुन् ।
सभामुखसँगको आग्रहपछि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर आजै निष्कर्षमा पुग्ने जवाफ दिएको सभामुख सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै आएको रास्वपासँग पनि छलफल गर्ने बताएका छन् । रास्वपाले सहमतिको लागि सत्तापक्षसँग ५ बुँदे प्रस्ताव अघि सारेको छ । प्रचण्डले त्यही प्रस्तावको सेरोफेरोमा रहेर भाषा मिलाउन फेरि विपक्षीसँग छलफल गर्ने बताए । सभामुखसँग भेट्नुअघि बसेको विपक्षी दलको बैठकले छानबिन समिति बनाउने कुरामा विपक्षी दल एक ठाउँमा रहेको निष्कर्ष निकालेको थियो ।