१ असार २०८२, आईतवार
पाँच लाख असुलीको आरोपमा तीन घुमुवा प्रहरीसहित पाँचजना पक्राउ

  • टाइम्स संवाददाता

  • ३२ जेष्ठ २०८२, शनिबार २१:३४

कोहलपुरको थ्रिस्टार मोबाइल पसलबाट लागूऔषधसहित लगायतका मुद्दामा फसाइदिने भन्दै रकम असुली गर्ने तीनजना घुमुवा प्रहरीसहित पाँचजना पक्राउ परेका छन् । पसलका सञ्चालकलाई डर, धम्की देखाएर ५ लाख रूपैयाँ असुली गर्ने कार्यमा संलग्नको आरोपमा तीनजना घुमुवा प्रहरीसहित अन्य दुई जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यमबहादुर बुढामगरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् । उनका अनुसार यस्तै पक्राउ पर्नेमा आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचार विरुद्धको अभियान्ता बताउने दैलेख घर भई नेपालगन्ज बस्ने सूर्यप्रसाद रिजाल रहेका छन् ।

पक्राउ परेकाहरूविरुद्ध मोबाइल पसल सञ्चालकले आफूलाई विभिन्न मुद्दामा फसाइदिने डरत्रास देखाएर पाँच लाख रूपैयाँ जबरजस्ती असुलेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले जानकारी दिइन् । उनीहरूविरुद्ध किटानी जाहेरी परेपछि बाँकेका विभिन्न स्थानबाट उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बुढामगरले घटनामा संलग्न रहेका गोबिन्द भण्डारीलाई कोहलपुर नगरपालिका– ११ गोलपार्कबाट बुधबार साँझ साढे सात बजेको समयमा पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बुधबार रातिनै दैलेखको दुल्लु नगरपालिका– २ घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका– २ मा बस्दै आएका सूर्यप्रसाद रिजाललाई पुष्पलाल चोकबाट पक्राउ गरिएको थियो ।

सोही दिन नै प्रहरी सहायक हवलदार खान र बर्मालाई पनि पक्राउ गरेर इलाका प्रहरी कार्यालय कोहलपुर पु¥याइएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरीलाई भने बिहीबार साँझमात्र पक्राउ गरिएको डीएसपी खनालले जानकारी दिइन् ।

पक्राउ परेका पाँचैजनालाई इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ । बुधबार पक्राउ परेका खान, बर्मा, भण्डारी र रिजाललाई बाँके जिल्ला अदालतबाट बिहीबार म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक बुढामगरले बताए । सशस्त्र प्रहरी जवान चौधरी बिहीबार साँझमात्रै पक्राउ परेकाले उनीलाई आजमात्र बाँके जिल्ला अदालतमा उपस्थित गराइने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरी स्रोतले भने प्रारम्भिक अनुसन्धान सुरु भएकाले पाँच लाख रूपैयाँ असुलीको घटनामा अन्यको संग्लनता देखिए उनीहरूलाई समेत पक्राउ गरिने जनाएको छ ।

खान र बर्माद्वय लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) राजेन्द्रप्रसाद भट्टले बाँके, बर्दिया जिल्ला हेर्नेगरी खटाएका घुमुवा प्रहरी हुन् । दुवैजनाको दरबन्दी प्रहरीको लागूऔषध ब्युरोमा रहेपनि डीआइजी भट्टले दुई जिल्ला हेर्नेगरी मौखिक रूपमा जिम्मा दिएका थिए ।

त्यस्तै अर्का चौधरी चौलिकामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट खटिएका सशस्त्र प्रहरीका घुमुवा हुन् । उनीहरूले पसलमा बार्गेनिङ गरेर नेपालगन्ज–कोहलपुर सडक खण्डको जानकी गाउँपालिका– ६ प्रिप्रहवाको एक खाजा पसल अगाडि पाँच लाख रूपैयाँ नगद बुझेका थिए । भारतीय नम्बर प्लेटको यूपी५०एए ९८८५ नम्बरको कार चढेर उनीहरू रकम बुझ्न पुगेका थिए ।

Nabintech