कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक सई पक्राउ परेका छन् । डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सई हरजीत नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी राजकुमार सिंहले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको बताउनुभयो । नाथ मृतक पाली प्रतिवादी रहेको बैङ्किङ कसुर मुद्दाका वादी समेत हुन् । नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो ।
मृतककी श्रीमती जानकी साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाउँदै बुधवार कारागार प्रमुख वसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो । तर कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको छ ।
प्रहरीले किटानी जाहेरी दर्ता गरेर सई नाथलाई नियन्त्रणमा लिएपछि पीडित पक्ष शव बुझ्न तयार भएको छ । सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको शवको परीक्षण सकेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।
२९ जेठमा डडेलधुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो । ३१ गते शनिवार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेस गरिएको थियो ।अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो । तर २ गते राति साढे १० बजे कारागारका बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो ।
सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा नीलडाम र चोटपटक भेटिएको छ । पालीका आफन्तहरूले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।