काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते अर्थात आजकै दिनदेखि राज्यको तर्फबाट पाएका सबै सेवासुविधा त्याग गरेकी छन्। सरकारले आफूलाई पूर्वराष्ट्रपतिका हैसियतमा दिएका सबै सेवासुविधा त्यागेको भनी भण्डारीले लेखेको पत्र बुधबार नै गृह मन्त्रालयमा दर्ता भएको छ। यससँगै बुधबारदेखि नै उनले पाउँदै आएको स्वकीय सचिव, कार्यालय सहयोगीलगायतका लागि मासिक डेढ लाख रुपैयाँको नियमित सुविधा रोकिएको सरकारी स्रोतले जानकारी दिएको छ।
उनले सेवासुविधा त्याग गरे पनि सुरक्षा भने त्याग्न नमिल्ने सरकारी स्रोतले उल्लेख गरेको छ।
उनले गाडी नलिए पनि लिँदै आएको पेट्रोल सुविधा पनि बुधबारदेखि नै बन्द भएको छ। गत असार १४ गते मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गराएको जानकारी सार्वजनिक रूपमा गराएकी थिइन्। उक्त कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि भए पनि उनले भण्डारीको घोषणा भने सुन्न पाएनन्। उनी त्यही दिन स्पेन जानुपर्ने भएकाले कार्यक्रमबाट चाँडै निस्किएका थिए।