१ श्रावण २०८२, बुधबार
भारतमा लुटिएको १५ तोला सुन र करिब ७ लाख रकम सहित ६ नेपाली कोहलपुरमा पक्राउ

  • टाइम्स संवाददाता

  • १ श्रावण २०८२, बुधबार ०५:४९

भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ जनालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १५ तोला सुनका गरगहना र सात लाख ८७ हजार नगद रुपैयाँ बरामद गरिएको छ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित होटल न्यू कालिकोटेमा कोठा भाडा लिई बसेको अवस्थामा पक्राउ गरिएको कोहलपुरका डिएसपी लक्ष्मी खनालले जानकारी दिइन् । भारतबाट सुनका गहना र नगद चोरी गरी कोहलपुरमा लुकेर बसेको भन्ने बिशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । होटलको कोठा नम्वर ८ मा बसेका उनीहरुबाट १५ तोला सुनका गरगहना, नेपाली रू.७ लाख ८७ हजार रकमसमेत बरामद गरिएको डिएसपी खनालले बताइन् । उनीहरु रोजगारीको बाहनामा भारत जाने र त्यहाँ चोरी धन्दा गर्दै नेपाल आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कालिकोट जिल्ला रासकोट नगरपालिका वडा नं. १ बस्ने वर्ष ४२ को मनबहादुर शाही, सोही ठाउँ बस्ने वर्ष ४२ कै तेजबहादुर शाही, कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष १८ को पंकज के.सी.सोही वडा बस्ने वर्ष ४५ को प्रेमबहादुर खत्री, यस्तै सोही वडा बस्ने वर्ष ३८ की अनिता शाही र नरहरी नाथ गाउँपालिका वडा नं. ९ बस्ने वर्ष २८ की सरिता शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुर की प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिनु भयो ।

Nabintech