संविधानको मर्म र भावना विपरीत हुने भन्दै नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किन नमिल्ने निर्णय गरेका छ । एमालेले भण्डारीको पार्टी सदस्यता समेत नवीकरण नगर्ने निर्णय गरेको छ । मंगलवार मध्यराति सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किने कुरा संविधानको मर्म र राजनीतिक संस्कार विपरीत हुने निष्कर्ष निकालेको हो । बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किने च्याप्टर क्लोज भएको बताएका हुन् ।
‘पूर्वराष्ट्रपति राष्ट्रिय एकताको प्रतीक, गणतन्त्रको गौरव तथा नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिक दलको कार्यकर्ता या नेता हुने कुरा राम्रो हुँदैन भन्ने पार्टीको निर्णय रह्यो, उहाँ राजनीतिमा आउँदा संविधानको मर्म र भावनामा असर पार्छ भन्ने हाम्रो निष्कर्ष हो’ गौतमले भने, ‘तर पूर्वराष्ट्रपतिलाई गर्ने सम्मानमा केही कमी हुँदैन ।’
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई कमरेड नभइ सम्मानित पूर्वराष्ट्रपति भनेर सम्वोधन गरिने बताएका थिए । पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्किन नदिने एमाले निर्णयमा उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका छन् । उनीहरूको फरक मतका बाबजुद एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्किन नदिने निर्णय गरेको छ ।
मंगलवार मात्र पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा आउने घोषणाबाट पछि नहट्ने बताएकी थिइन् । उनले आइतवार एमाले अध्यक्ष ओलीसँग लामो वार्ता गरेकी थिइन् ।