बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकाभित्र स्थानीयबासीको असन्तुुष्टि तीव्ररूपमा बढ्न थालेको छ । मेयरलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूको व्यक्तिगत स्वार्थ केन्द्रित रबैयाका कारण स्थानीयबासीले असन्तुष्टि तथा आक्रोश व्यक्त गर्न थालेका हुन् ।
जनप्रतिनिधि तथा कर्मचारीहरू आफूलाई आर्थिक रूपले फाइदा हुने काममा लिप्त रहने तर नागरिकका आधारभूत आवश्यकता तथा जनसरोकारका विषयमा आँखा चिम्लिने गरेको स्थानीयबासीको भनाइ छ ।
बाँसगढी नगरपालिका–५ का लीलाधर शर्माले बाँसगढी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले व्यक्तिगत रूपमा आफूलाई फाइदा हुने काम मात्र गर्ने गरेको आरोप लगाए । व्यक्तिगत तथा केही निश्चित समूहको स्वार्थ सिद्धि हुने भएकाले सडक स्तरोन्नतिका कामलाई प्राथमिकता दिने गरिएको तर आमनागरिकको आवश्यकता, मानव संसाधनको विकास तथा उनीहरूको खुसीका लागि कुनै काम नभएको उनको भनाइ छ ।
शर्माले भनेझैँ यतिबेला बाँसगढीमा धमाधम सडक निर्माण र स्तरोन्नतिका काम भइरहेका पाइन्छन् । कतै भएका कालोपत्रे उप्काएर फेरि नयाँ कालोपत्रे गर्ने तयारी हुँदै छ । कतै ग्र्याभिलिङ गर्ने काम भइरहेको छ । कतै नाली निर्माणका काम भइरहेका छन् ।
त्यसो त मुख्य सडकहरू कालोपत्रेको काम नगरपालिकाको बजेटबाट सम्भव हुने कुरा होइन । प्रदेश तथा संघबाट परेका योजनाहरूलाई नै स्थानीय सरकारले कार्यान्वयन गर्ने हो । सामान्य मर्मत र ग्र्याभिलिङसम्मका काम पालिकाको बजेटबाट हुने हुन् । तर पनि बाँसगढी नगरपालिकाले तिनै कामलाई प्राथमिकता दिँदै अन्य कामलाई भने महत्व नदिने गरेको स्थानीयको गुनासो छ । नगरभित्र निर्माण सम्पन्न भएका सडकका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट्याउँदै जनप्रतिनिधिहरू ‘विकासप्रेमी’ भएको भन्दै आएका छन ।
आमसरोकारका अन्य विषय किन प्राथमिकतामा पर्दैनन् तर सडक स्तरोन्नतिलाई मात्र किन प्राथमिकतामा राखिन्छ ? यो खोजीको विषय बनेको छ ।
तर यहाँका शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता विकास, सचेतना यहाँको साहित्य, कला, संस्कृति संवद्र्धन, पर्यटन प्रवद्र्धन, कृषि उत्पादनको बजारीकरणलगायतका काम भने ओझेलमा छन् ।
यी विषयमा जे जति काम भएका छन् ती विनियोजित बजेट सक्ने कामबाहेक केही नभएको शर्माको भनाइ छ । शर्माका अनुसार यी विषयमा न नगर प्रमुख खड्कबहादुर खड्कालाई चासो छ न अन्य जनप्रतिनिधि तथा कर्मचारीलाई नै ।
के सडक निर्माण मात्र नगर विकासको मूल आधार हो ? यतिबेला बाँसगढी नगरबासी प्रश्न तेस्र्याउन थालेका छन् ।
‘यहाँका जनप्रतिनिधि तथा कर्मचारीले जुन कामबाट आफूलाई फाइदा हुन्छ त्यही काम मात्र गरिरहेका छन् । नागरिकको खुसी र मानव संसाधनको विकासमा यिनीहरूको ध्यान नै छैन ।’ व्यक्तिगत स्वार्थकै कारण कर्मचारी तथा जनप्रतिनिधिहरूले सडक स्तरोन्ततिको कामलाई प्राथमिकतामा राख्ने गरेको नगरबासीको गुनासो छ । सडक ग््रयाभिलिङमा महत्व दिइनुको कारण नै आर्थिक चलखेल भएको पनि स्थानीले ठोकुवा गरेका छन ।
‘अन्य काममा त त्यस्तै हो सबै खर्च उठाउने भनेको यही ग्र्याभिलिङले नै हो’ अस्ति एक जना ठेकेदार मसँग भन्दै थिए,’ शर्माले एक जना ठेकेदारको भनाइ उद्यृत गर्दै भने, ‘यसका लागि खासै मापदण्ड पनि नचाहिने रहेछ । माटोमा कति ग्याभिल हालियो भन्ने कुराको टुङ्गै हुँदो रहेनछ ।’ उनले स्थानीय नागरिकको आवश्यकता र कामको औचित्यबारे नगरबासीसँग कहिल्यै परामर्शसमेत नगर्ने गरिएको आरोप लगाए ।
बाँसगढी नगर युवा सञ्जालका अध्यक्षसमेत रहेका एकनारायण अधिकारी पनि सडक निर्माण गरेर मात्र नगरको सर्वाङ्गीण विकास नहुने धारणा राख्छन् । ‘भौतिक विकासले मात्र समाजको सर्वाङ्गीण विकास हुने हो र ?’ उनी प्रतिप्रश्न गर्दै भन्छन्, ‘तर स्वार्थ समूहलाई यसैबाट फाइदा छ । समाज र नागरिकको फाइदा बेफाइदासँग उनीहरूलाई के सरोकार ।’
उनले नगर प्रमुख खड्काले नगरपालिकालाई पार्टीको भर्तीकेन्द्र बनाएको र फरक विचार समूहका मानिसलाई विभेद गर्ने गरेको आरोपसमेत लगाए ।
नगरको शान्तिसुरक्षा, कृषि उत्पादनको बजारीकरण, कला साहित्यको विकास तथा पर्यटन प्रवद्र्धन जस्ता कुरामा बाँसगढी नगरपालिकामा खासै काम हुन नसकेको आमनगरबासीको भनाइ छ । पर्यटन प्रवद्र्धनका नाममा बजेट छुट्याएर समाजमा छाडाखालका गतिविधि गर्ने मेला महोत्सवहरूमा खर्च गर्ने गरिएको उनीहरू बताउँछन् । यस्ता मेला महोत्सवहरूले समाजमा सकारात्मक सन्देश भन्दा पनि नकारात्मकता वृद्धि गर्ने गरेको पाइन्छ । मेलाले उत्तेजना, झैझगडा, बलात्कार तथा अन्य विकृतिजन्य घटनाहरूलाई नै बढावा दिने गरेको आम नगरबासीको बुझाइ छ । कला संस्कृति संरक्षणका नाममा गरिने यस्ता मेला महोत्सवहरूमा हुने गरेका गतिविधिहरूले समाजलाई कता लगिरहेका छन् भन्ने हेक्का पालिका नेतृत्वले राख्नुपर्ने शर्माको तर्क छ ।
नगरभित्र जनताको राजस्वबाट करोडौँ लगानी गरेर बनाइएका सार्वजनिक संरचनाहरू उपयोगहीन अवस्थामा छन् । पुरानो नगरपालिका कार्यालयनजिक करोडौँको लागतमा बनाइएको कृषि बजारस्थल यतिबेला उपयोगहीन अवस्थामा छ । तर यहाँका कृषकहरू भने यहाँबाट कोहलपुर तथा नेपालगन्ज पुगेर आफ्ना बजार खोज्न बाध्य छन् । कृषि बजारस्थल अहिले कवाडी र निर्माण व्यवसायीका निर्माण सामग्री थन्क्याउने स्थलका रूपमा परिणत भएको छ । त्यहाँ निर्माण गरिएका संरचनाहरू पनि जीर्ण बन्दै जान थालेका छन् ।
नगरपालिकाभित्रका गाउँगाउँ र टोलटोलमा लागूऔषध दुव्र्यसनीको आगो सल्किरहँदा पनि यहाँका मेयर र जनप्रतिनिधिलाई भने कुनै चासो देखिँदैन । स्थानीय सरकारका दुई कार्यकाल बित्न लाग्दासमेत बाँसगढीमा नगर प्रहरीसमेत गठन हुन सकेको छैन ।
अधिकारीका अनुसार बाँसगढी नगरपालिकाभित्र आर्थिक चलखेल र स्वार्थकेन्द्रित गतिविधि तीव्ररूपमा बढेको छ । यसो हुनुको प्रमुख कारण नै भ्रष्ट मानसिकताको उपज भएको अधिकारीको भनाइ छ । कतिसम्म भने आर्थिक चलखेलकै कारण गोपनीयता भङ्ग हुने डरले नगरपालिकाअन्तर्गत हुने ठेक्कापट्टा तथा खरिद प्रक्रिया पनि बाहिरी जिल्ला वा पालिकाका व्यापारी, व्यवसायीहरूमार्फत हुने गरेको यहाँका व्यापारीहरूको गुनासो छ ।






